जनकपुरधाम : महोत्तरीको बर्दिबासमा मापदण्ड विपरित मनपर्दी उत्खनन भइरहेको पाइएको छ ।

बर्दिबास नगरपालिका–७ स्थित भइरहेको सडक निर्माण तथा पोखरी पुनः निर्माण गर्न मापदण्डको धज्जी उडाउँदै मनपर्दी उत्खनन भइरहेको देखिएको हो ।

आर्थिक वर्ष सकिनै लाग्दा स्थानीय “गोबिन्द साहको घर देखि पक्षिम कृषि सडक स्तरोन्नति“ योजना सम्पन्न गर्न धमाधम काम हुँदैछ ।

सो सडक स्तरोन्नतिका लागि बर्दिबास नगरपालिका– ७ स्थित कृषि बजार केन्द्र नजिक रहेको ऐलानी जमिनबाट बालुवा–गिट्टी उठाइँदै छ ।

स्थानीयका अनुसार कानुनी रुपले तीन फिट गहिराइसम्म मात्र बालुवा, ढुङ्गा, गिट्टी निकाल्न पाइने भएपनि १० फिट गहिरो खाल्टो खनी ग्राभेल खनिदै छ ।

नगरपालिकाबाट स्वीकृति लिएर बालुवा–गिट्टी खन्ने काम भइरहको नगरपालिकाका मेयर बिदुर कार्कीले बताए ।

पुरानो पोखरीलाई पुनःनिर्माण तथा फराकिलो गर्ने र सडक स्तरोन्नतिका लागि ग्राभेल खन्न नगरपालिकाले स्वीकृति दिएको उनले बताए ।

बस्ती जोखिममा पर्ने गरि मापदण्ड विपरित उत्खनन भएपछि स्थानीयले विरोध समेत गरेका छन् ।

मापदण्ड विपरित बालुवा गिट्टी उत्खनन गर्दा दुर्घटना हुनसक्ने भन्दै स्थानीयले विरोध गरिरहेका हुन् ।

मापदण्ड विपरित उत्खनन नगर्न पटक पटक अनुरोध गर्दा आफुहरुलाई ज्यान मर्ने धम्की दिएको स्थानीय अधिकलाल महतोले सुनाए ।

एलानी जग्गामा नखन्न भन्दा उनीहरु कुट्न आउँछन्,’ उनले भने । मेयरकै आदेशमा उनीहरुले मापदण्ड विपरित खनेको स्थानीयको आरोप छ ।

मेयरले नै जनताको गुनासो नसुन दिएपछि कसले सुनीदिने भन्दै महतोले गुनासो पोखे ।

तर निर्माणकार्य गरिरहेकाका उपभोक्ता समितका अध्यक्ष मनोहर साहले सडक स्तरोन्नतिको लागि छुटियाएको ३ लाख रकम कम भएकाले स्थनीयहरुको थप आर्थिक सहयोग तथा ऐलानी जग्गाबाट ग्राभेल झिक्दा आफुहरुलाई निर्माणको काम ग्राभेलको रकम नतिर्नु पर्दा गुणस्तरिय काम हुने भएको हुनाले ऐलानी जग्गाबाट ग्राभेल झिकेको बताए ।