सर्लाही : सर्लाहीमा फेरि जंगली हात्तीले उपद्रव मच्चाएका छन् ।

लालबन्दी नगरपालिका–१६, परवानिपुर भोर्लेनीमा स्थानीय मनिराम नेपाली, मानबहादुर विक, रेखा थापा र रुद्रबहादुर पुलामीको करिव एक बिघामा लगाएको मकै बाली खाने र फाल्ने गरेर नष्ट गरिदिएको छ ।

स्थानीय ज्याङ लामाका अनु्सार आइतवार विहानै हात्ती वस्तीमा पसेका थिए ।

आइतवार बिहान ३ बजेतिर तीनवटा जंगली हात्ती देखा परेका स्थानीयवासीले बताएका छन् ।

हात्तीले त्यहाँको किराँत मन्दिरको पर्खाल भत्काएको छ भने बिजुलीको तार र पोल लर्काएको छ ।

केही समयअघि पनि त्यस क्षेत्रमा जंगली हात्तीले क्षति गरेका थिए ।

यसरी पटक÷पटक हात्तीहरु फर्किएर बस्ती र खेतबारीमा आएर क्षति गर्दा स्थानीयवासी त्रसित भएका छन् ।

सर्लाहीमा तीनवटा जंगली हात्ती देखिएका २ महिना भन्दा बढी समय भइसकेको छ ।

ती हात्तीले ठाउँ फेरेर परवानीपुर, रानीगन्ज, लालबन्दी, ईश्वरपुर, अत्रौलीलगायत ठाउँका विभिन्न जंगल र बागवानी केन्द्रमा बस्दै आएका छन् ।

कहिँले काँही हात्तीको समूहले बाँके खोला पारी पर्ने महोत्तरीको गौशाला नगरपालिकाको विभिन्न बस्तीहरुमा समेत पुगेर क्षति पुर्‍याउँदै आएको छ ।