तीस लाख रुपैयाँ चोरी गरेको आरोपमा बावु- छोरा पक्राउ
तौलिहवा स्थित फलफूल व्यापारीको तीस लाख रुपैयाँ लुकाएर चोरी गरेको आरोपमा एक स्टिल फर्निचर मर्मत केन्द्रका मालिक र उनका छोरा पक्राउ परेका छन्।
तौलिहवाको बस पार्कमा रहेको स्टिल फर्निचर मर्मत केन्द्रका मालिका एस माहोम्मद फकिर र उनका छोरा ईसराज फकिर चोरीको आरोपमा पक्राउ परेका हुन्।
कपिलवस्तु नगरपालिका वडा नम्बर १ का फलफूलका थोका व्यापारी सनी उल्लाह कुजाडाले आफ्नो बिग्रेको दराज मर्मत गर्न गत फागुन १ गते आफ्नी श्रीमती रेशमा कुजडा मार्फत सो मर्मत केन्द्रमा दराज पठाएका थिए। केही दिन अघि फलफूल व्यापारी कुजडाले आफ्नी श्रीमती रेशमालाई ३० लाख रुपैयाँ नगद राख्न दिएका थिए। रेशमाले सो रकम त्यही दराजको लकरमा राखेकी थिइन। फलफूल व्यापारीको घरमा विवाह परेकोले सबै जना त्यसैमा व्यस्त थिए। दराजको लक्कर माथि समेत साढे चार लाख रकम राखिएको थियो। जनु रकम रेशमाले निकालेर घरमै राखेकी थिई । रेशमाले सो दराज मर्मत गर्न फर्निचर मर्मत केन्द्रमा पठाईन। तर लकरमा रहको ३० लाख रुपैयाँ भने निकाल्न बिर्सिन।
फागुन ४ गते फलफूल व्यापारी सनी उल्लाहले सो पैसा श्रीमतीसँग माग्दा ३० लाख मर्मत गर्न भनी पठाएका दराजमै रहेको बत्ताइन्। त्यसको केही बेरमै व्यापारी सनी र उनका भाइ सहित मर्मत केन्द्रमा पुगेर पैसा दिन आग्रह गरे। तर फर्निचर मर्मत व्यापारी एस माहोम्मले आफूलाई त्यस बारे केही जानकारी नभएको बताए।
फलफूल व्यापारीले तत्कालै तौलिहवा वडा प्रहरी कार्यालयमा मौखिक उजुरी दिएका थिए। उजुरी लगत्तै फर्निचर मर्मत केन्द्रका मालिक एस माहोम्मदको घरमा खान तलासी गर्दा २४ लाख ७७ हजार नगद फेला परेको प्रहरी नायब उपरीक्षक मीन बहादुर घलले बताए।
फर्निचर मर्मत व्यापारीले केही पैसा खर्च भएको प्रहरी समक्ष बयान दिएका छन्। एस मोहम्मद फकिर र निजको छोरा वर्ष २१ को इसराज फकिरलाई पक्राउ गरी अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक घलले बताए। दुवैमाथि चोरीको मुद्दा लगाइएको छ।
फलफूल व्यापारी र फर्निचर मर्मत केन्द्रका मालिकबिच आपसी मित्रता समेत रहेको थियो। मर्मत केन्द्रमा काम गर्ने मिस्त्रीले सो दराज मर्मत गर्दा लकरमा रकम देखे पछि आफ्नो बुवालाई फोन गरेर के गर्ने भनी सोधेका थिए। उनका बुवाले सो रकम बारे फर्निचर मर्मतका मालिकलाई जानकारी दिन भनेका थिए।
त्यस पछि सो रकम फर्निचर मर्मत केन्द्रका मालिकले घरमा लुकाएका थिए। मिस्त्रीलाई एक हप्ताको छुट्टी समेत दिएका थिए। फलफूल व्यापारी र फर्निचर मर्मत केन्द्रका व्यापारी दुवैको बोलाउने नाम गुड्डु हो।





















