काठमाण्डौ – सरकारले कुल पुँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान नवप्रवर्तन र आविष्कारमा खर्च गर्ने नीति लिने भएको छ ।

सोमवार आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले यस्तो बताउनुभएको हो ।

उहाँले अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि छुट्टै कोष स्थापना गर्न एक अर्ब रुपैयाँ विनियोजन गरेको बताउनु भयो । उहाँले कोष सञ्चालन गर्न आवश्यक कानून तर्जुमा गर्ने बताउनु भयो । उहाँले सरकारका विभिन्न निकायबाट हुने अनुसन्धान, नवप्रवर्तन, आविष्कारसमेतका कार्यक्रमलाई यसमा आबद्ध गर्दै लगिने बताउनु भयो ।

उहाँले प्रदेश र स्थानीय तहलाई यस कोषमा रकम जम्मा गर्न प्रोत्साहित गरिने बताउनुभयो । नवप्रवर्तन, आविष्कार र अुनुसन्धानसम्बन्धी कार्यमा समन्वय र सहजीकरण गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको छुट्टै इकाइ स्थापना गरिने साथै उहाँले उद्यमशील सोच र संस्कृतिको विकास एवम् उद्यमशील सोचलाई व्यवसायमा रुपान्तरण गर्न काठमाण्डौमा इनोभेसन सेन्टर स्थापना गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारको कुल पुँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान नवप्रवर्तन र आविष्कारमा खर्च गर्ने नीति लिइनेछ । अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि छुट्टै कोष स्थापना गर्न एक अर्ब विनियोजन गरेको छु । कोष सञ्चालन गर्न आवश्यक कानून तर्जुमा गरिनेछ । सरकारका विभिन्न निकायबाट हुने अनुसन्धान, नवप्रवर्तन, आविष्कारसमेतका कार्यक्रमलाई यसमा आबद्ध गर्दै लगिनेछ ।’

उहाँले अगाडि भन्नुभयो, ‘प्रदेश र स्थानीय तहलाई यस कोषमा रकम जम्मा गर्न प्रोत्साहित गरिनेछ । नवप्रवर्तन, आविष्कार र अनुसन्धानसम्बन्धी कार्यमा समन्वय र सहजीकरण गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको छुट्टै इकाइ स्थापना गरिनेछ । मुलुकमा नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धन गर्न स्टार्ट अप इकोसिस्टम विकास गरिनेछ । उद्यमशील सोच र संस्कृतिको विकास एवम् उद्यमशील सोचलाई व्यवसायमा रुपान्तरण गर्न काठमाण्डौमा इनोभेसन सेन्टर स्थापना गरिनेछ ।’