कृष्णनगरमा विस दिने साङ्केतिक भाषा तालिम
लुम्बिनी समय । समाचारदाता
कपिलबस्तु (कृष्णनगर), असार ५ । जिल्लाको कृष्णनगर नगरपालिकामा २० दिने नेपाली साङ्केतिक भाषा तालिम सम्पन्न भएको छ । कृष्णनगर नगरपालिकाको सहयोग र कपिलवस्तु बहिरा संघ तौलिहवाको आयोजनामा सम्पन्न भएको हो । कृष्णनगरका बहिरा अपाङ्गता भएका व्यक्तिहरूको लागि नेपाली साङ्केतिक भाषा तालिम दिएको हो ।
नगर प्रमुख रजत प्रताप शाहले बहिराहरूको विकासको लागि साङ्केतिक भाषा पहिलो सर्त भएको बताउँदै भाषा जानेपछि मात्र अरू कार्यहरू गर्न सक्ने बताए । उनले पहिले भाषाको ज्ञान भएपछि विस्तारै अन्य सीपमूलक तालिमसमेत लिन सहज हुने बताए । कपिलवस्तु बहिरा संघको प्रशंसा गर्दै यस्ता तालिमहरुलाई निरन्तरता दिन समेत आग्रह गर्दै शाहले नगरबाट अपाङ्गता भएको व्यक्तिलाई पहिलो प्रथामिकता राखेको शाहको भनाई छ ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै कपिलवस्तु बहिरा संघका अध्यक्ष रिन्कु गुप्ताले बहिरा अपाङ्गता भएका व्यक्तिहरुको सञ्चारमा पहुँच पुर्याउने उद्धेश्यले यो साङ्केतिक भाषाको तालिम सञ्चालन गरिएको जनाए । उनले यो तालिम पश्चात दोभाषे उत्पादन हुने र रोजगारीमा पनि सहभागी हुने अवसर प्राप्त हुने बताए । यो साङ्केतिक भाषाको तालिम लिएपछि आफ्ना कामकाज गर्न सहजता हुने गुप्ताले बताए ।























