कपिलबस्तु, असार २१ गते । राष्ट्रिय वाणिज्य बैकले कपिलबस्तु नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको छ । सो काउन्टरको कपिलबस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेल र प्रजिअ शंकरहरि आचार्यले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो । बैंकले उक्त स्थानमा ६५ औं एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको हो ।
बैंकको अनुसार शाखा कार्यालय तौलिहवामार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट राहदानीको राजश्व, विभिन्न सरकारी कार्यालयबाट लिईने राजश्व, हाततियारको राजश्व, धरौटी, सेवा शुल्क, दस्तुर लगायतको रकम जम्मा गर्न सकिने छ ।
सो अवसरमा बोल्दै नगर प्रमुख सुदीप पौडेलले नागरिकको सहजताको लागि जिल्ला प्रशासन कार्यालयले कार्यालय भित्रै एक्सटेन्सन काउन्टरको उद्घाटन गरि सरहनिय कार्य गरेका बताउनुभयो । वाणिज्य बैंकको विश्वासनियताले गर्दा ग्राहकहरु आफै आउने गरेको उहाँको भनाई छ । राजश्व बुझाउन अब सेवाग्राहीले घण्टौ लाइन बस्नु पर्ने बाध्यता टर्ने उहाँको विश्वास छ ।
सो अवसरमा बोल्दै प्रजिअ आचार्यले बाणिज्य बैंकमा हुने भिडलाई यसले केही हद सम्म कम हुने बताउनुभयो । सेवाग्राही कार्यालय भित्र आइसकेपछि सम्पूर्ण सेवा सेवा एकै ठाँउमा पाउन भन्ने उद्देश्यका साथ एक्सटेन्सन काउन्टरको उद्घाटन गरिएको उहाँले बताउनुभयो ।
आम्दानी भन्दा जनताको सेवाका लागि दिनरात खटि कार्य गर्दै आइरहेको राष्ट्रिय वाणिज्य बैक तौलिहवा शाखाका प्रमुख अर्जुन काफ्लेले बताउनुभयो । न्यून कार्मचारी भएको कारणले शाखा सञ्चालनमा केही समस्या आए पनि नागरिकको सेवाका लागि एक्सटेन्सन काउन्टरको स्थापना गरिएको उहाँले बताउनुभयो ।
बैंकले अब देखि देशभरबाट २ सय ७२ वटा शाखा कार्यालय र ६५ वटा एक्सटेन्सन काउन्टरबाट सेवा दिइने छ । कार्यक्रममा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख भिमार्जुन ज्ञवाली, सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, कपिलबस्तु नगरपालिकाका लेखा अधिकृत बलराम न्यौपाने लगायतको सहभागिता रहेको थियो ।