कृषि यान्त्रीकरणले कपिलवस्तुका कृषकहरुलाई राहत
उत्पादन लागत घटाई आम्दानी बढाउन कपिलवस्तुका किसान यान्त्रिकीकरणतर्फ आकर्षित बनेका छन् । जनशक्ति र समय समेत कम लाग्ने भएपछि किसानले आधुनिक खेती प्रणाली अपनाउन थालेका हुन् । परम्परागत सीप र प्रविधिको ठाउँमा नयाँ यन्त्र, उपकरणको प्रयोग बढ्दो छ ।

कृषि औजार तथा उपकरणमा दिइने सरकारी अनुदानले किसानलाई यान्त्रिकीकरणतर्फ लाग्न प्रोत्साहित गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको धान सुपरजोन कार्यक्रममा सम्मिलित किसानले ५० प्रतिशत अनुदानमा यान्त्रिक उपकरण बितरण गरिएको परियोजना एकाई कार्यालयले जनाएको छ ।

यान्त्रीकरण मार्फत कृषि कार्यलाई सहज बनाउने, लागत घटाउने र उत्पादन वृद्धि गर्ने उद्देश्यले परियोजनाले कस्टम हायरिङ्ग र पोष्ट हार्भेष्ट सेन्टरको स्थापना गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाईको ५० प्रतिशत अनुदानमा दुई ठाउँमा कस्टम हायरिङ्ग सेन्टरमा स्थापना गरिएको छ । कस्टम हायरिङ्ग सेन्टरमा कृषकलाई आवश्यक पर्ने सम्पूर्ण उपकरण उपलब्ध छ । कस्टम हायरिङ्ग सेन्टरले किसानको खर्च र समय दुवै जोगाएको साना किसान सहकारी संस्था मोतीपुरका अध्यक्ष भीम प्रसाद सापकोटाले बताए ।

कृषि पेशा सम्मानजनक पेशाको रुपमा स्थापित गर्न तथा आधुनिक प्रविधिहरुको अवलम्बन गर्नका लागि कस्टम हायरिङ्ग सेन्टर स्थापना गरिएको हो । बाली बस्तुको उत्पादनदेखि भण्डारण सम्म आवश्यक पर्ने सबै प्रकारका मेसिनरी औजार तथा उपकरणको सेटसहित भाडामा उपलब्ध गराउने केन्द्र नै कस्टम हायरिङ्ग सेन्टर हो ।

सुपरजोन क्षेत्र तथा सम्पुर्ण कपिलवस्तु जिल्लाका लागि गुणस्तर बिउबिजन उपलब्ध गराउने उदेश्यले जनसेवा बहुमुखी सहकारी मार्फत बाणगंगा नगरपालिका, ४ गजेहडामा पोष्ट हार्बेष्ट सेन्टरको स्थापना गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना धान सुपरजोन कपिलवस्तुको प्राविधिक सहयोगमा यस सेन्टरले आव २०७५।७६ देखि सकृय रुपमा बीउ उत्पादन गर्दै आएको छ । परियोजना कार्यान्वयन ईकाईको ८५ प्रतिशत अनुदान र संस्थाको १५ प्रतिशत लगानीमा उक्त सेन्टरको संचालनमा ल्याइएको छ ।

यता, मायादेवी गाउँपालिका, १ मा संचालनमा रहेको युनीफाईट सिड्स कम्पनीले पनि कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि बैज्ञानिक बिउबिजनको उपलब्धतामा काम गर्दै आएको संचालक बिजय शुक्लाले बताए ।
कृषिको प्रबद्र्धनमा सरकारले किसानलाई अनुदानमा दिएका यन्त्रहरुको सहि सदुपयोग गर्नुपर्ने आवश्यकत्ता एकातिर देखिन्छ भने परम्परागत ढंगले कृषि अघि बढ्न नसक्ने भएकाले यान्त्रिकिकरणको विकल्प नभएको तर्फ समेत सचेत बन्नुपर्ने देखिन्छ ।























