नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले कांग्रेसले निर्दोष मान्छेलाई फसाउन र भ्रष्ट्राचारीलाई जोगाउन नहुने बताउनु भएको छ । नेपाली कांग्रेस कपिलबस्तुले आयोजना गरेको कार्यकर्ता भेलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताएका हुन् । उहाँले भुटानी शरणार्थी, ललिता निवास, सुन तस्करी जस्ता काण्डको पर्दाफास गरेको वर्तमान सरकारले अन्य भष्ट्राचारको समेत फाइल खोल्नु पर्ने बताएका हुन ।
२०४६ साल पछि काङ्ग्रेसकै नेतृत्वमा भ्रष्टाचार सम्बन्धी बिभिन्न ऐन, नीति नियम निर्माण भएको भन्दै भ्रष्टाचार विरुद्ध पार्टी शसक्तरुपमा अघि बढने उहाँको भनाई थियो । कांग्रेसको अगुवाइमा बनेका ऐन नियमको परिधि भित्र रही कैयौँ काँग्रेसी नेताहरूमाथि नै भष्ट्राचारको मुद्दा लागेको छ, त्यसैले कांग्रेसले भष्ट्राचारीलाई बचाउनेमा लाग्दैन’ उहाँले भन्नुभयो । महामन्त्री शर्माले कांग्रेस मिसन चौरासीको कुराभन्दा जन सरोकारका र चासोका बिषयमा कांग्रेस केन्द्रित हुनु पर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो ‘जनतासँग प्रत्यक्ष गाँसिएको कुराहरूमा लाग्नु पर्छ, रूपान्तरण भएर जानु पर्छ जसरी चलेका त्यसरी नै चलाए अब त्यो गर्नु हुन्न ।’ कांग्रेसले आफ्नो संस्कार र समन्वय गरी सबैलाई मिलाएर लैजानु पर्ने बताउनुभयो । समन्वय नभए कांग्रेस सकिन्छ, सारा कुराको समन्वय गर्ने ताकत राख्नु पर्ने उहाँको भनाई थियोे ।
पार्टी सभापति अब्दुल कलामको अध्यक्षता, सचिव शक्ति सिंह ठकुरीको संचालन उप सभापति हुमाकान्त खनालको स्वागत मन्तव्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा पार्टी नेताहरु अभिषेक प्रताप शाह, वीरेन्द्र कनौडिया, सुधारकर पाण्डेय, राजेश आचार्य, केशब कुमार श्रेष्ठ, रजत प्रताप शाह लगायतको सहभागीता रहेको थियो ।