सिम्रौनगढमा पुरातात्त्विक उत्खनन : पुराना इट्टाले छापेको आँगन र स्तम्भजस्तो देखिने ढुङ्गे संरचना फेला
वीरगञ्ज । बारा जिल्लाको ऐतिहासिक, धार्मिक, र पर्यटकीय महत्त्व बोकेको सिम्रौनगढ नगरपालिका–४ हरिहरपुरस्थित पलकिया माई क्षेत्रमा पुरातात्त्विक उत्खनन कार्य जारी छ ।
नेपाल सरकारको पुरातत्त्व विभाग, काठमाडौँबाट आएको तीन सदस्यीय टोलीले मङ्सिर ७ गते शुक्रवारदेखि औपचारिक रूपमा उत्खनन सुरु गरेको हो । उत्खनन कार्य आगामी २१ दिनसम्म सञ्चालन हुने जनाइएको छ ।
उत्खननले पुरातात्त्विक संरचनाहरूको पहिचान र अध्ययनमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । पुरातत्त्व शाखा प्रमुख भास्कर ज्ञवालीको नेतृत्वमा रहेको टोलीमा पुरातत्त्व विज्ञ देवेन्द्र नाथ तिवारी, पुरातत्त्व अधिकृत हरि प्रसाद भुसाल, र छविकार नर्मदा श्रेष्ठ सहभागी छन् ।
पाँच दिनदेखि जारी उत्खननका क्रममा महत्त्वपूर्ण संरचना र जानकारीहरू फेला परेका छन् । स्थानीय पुरातात्त्विक विज्ञ भरत साहका अनुसार, पलकिया माई परिसरमा पुराना इट्टाले छापेको आँगन भेटिएको छ ।
त्यस्तै त्यस क्षेत्रमा रहेको खाल्डोको उत्तर तर्फ रहेको जस्तै दुई वटा स्तम्भजस्तो देखिने ढुङ्गे संरचना पनि सतहमा देखा परेको छ भने परिसरको उच्च भागमा विभिन्न किसिमका पुराना इट्टा र तिनका टुक्रा, दियो, भाँडाकुँडा, प्रस्तर मालाको दाना र वास्तुका थुप्रै अंशहरू भेटिएका छन् । मन्दिरमा प्रयोग हुने अमलकको टुक्रा भेटिएको हुँदा यस क्षेत्रमा मन्दिर हुन सक्ने प्रारम्भिक सङ्केत फेला परेको साहले बताए ।।
जमिनमुनि रहेका पुरातात्त्विक संरचनाहरूको प्रकृति र इतिहास उजागर गर्न उत्खनन थालिएको साहले जानकारी दिए । जिओफिजिक्स सर्वेक्षणले पलकिया माई क्षेत्रलाई महत्त्वपूर्ण साइटको रूपमा पहिचान गरेको पुरातत्त्व अधिकृत हरि प्रसाद भुसालले बताए ।
उत्खननको पाँचौँ दिन सिम्रौनगढ नगरपालिकाका प्रमुखसहितका पदाधिकारीहरूले स्थलगत भ्रमण गर्दै चासो व्यक्त गरेका छन् । यसले सिम्रौनगढको ऐतिहासिक र सांस्कृतिक महत्त्व उजागर हुने विश्वास गरिएको छ ।
सिम्रौनगढको इतिहास १२औँ शताब्दीमा राजा हरिसिंह देवको शासनकालसँग सम्बन्धित छ । यो क्षेत्रले धार्मिक, सांस्कृतिक, र ऐतिहासिक दृष्टिकोणले विशिष्ट स्थान ओगटेको छ । पलकिया माई क्षेत्र धार्मिक आस्थासँगै पुरातत्त्व अध्ययनका लागि पनि अत्यन्त महत्त्वपूर्ण मानिन्छ ।
उत्खनन कार्यले सिम्रौनगढको पुरातन महत्त्व पुष्टि गर्दै यसलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग गर्ने विश्वास गरिएको छ । यसको माध्यमबाट क्षेत्रको सांस्कृतिक धरोहर उजागर हुने र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।


















