नटुवा समुदायका बालबालिकालाई शिक्षाको पहुंचमा पुर्याउन शैक्षिक सामाग्री

कपिलबस्तु, वैशाख २८ गते। कपिलबस्तुको मायादेवी गाउँपालिका अन्तर्गतका नटुवा समुदायका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ। विद्यालयमा निरन्तरता कायम राख्न सहयोग पुर्‍याउने उद्देश्यले दलित सामाजिक विकास केन्द्रले नटुवा समुदायका ३३ जना बालबालिकालाई सामग्री सहयोग गरेको हो।
संस्थाका कार्यक्रम संयोजक जितेन्द्र चौधरीका अनुसार एक सेट सर्ट-पाइन्ट, २ दर्जन कापी, ५ प्याकेट कलम, ५ प्याकेट पेन्सिल, कटर र इरेजर १/१ प्याकेट वितरण गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “सबै बालबालकाले शिक्षाको अधिकार पाउनुपर्छ। कुनै पनि बालबालकालाई पढाइबाट बञ्चित हुन दिनुहुँदैन। सहयोग एकपटकका लागि मात्रै नभई वर्षभर पुग्ने गरी पटक-पटक निरन्तर रुपमा गरिनेछ।”
यूनाइटेड मिसन टु नेपालका शिक्षा व्यवस्थापक शान्ति थापा मगरका अनुसार, नटुवा समुदायमा रहेको मागेर खाने परम्परालाई अन्त्य गर्न र शिक्षामा अभिप्रेरणा दिन ती बालबालिकालाई हाजिरीको आधारमा दैनिक रु. २५ का दरले खाजाको व्यवस्था गरिँदै आएको छ।
त्यस्तै, दलित समाज विकास केन्द्रका सचिव रोहित लाल कोरीले नटुवा समुदायमा शैक्षिक रूपान्तरणको सुरुवात यस्ता स-साना सहयोगबाट नै सम्भव हुने बताउनुभयो। उहाँले भन्नुभयो, “शिक्षाले नै दीर्घकालीन रूपान्तरण सम्भव बनाउँछ। समुदायको विकासको मूल बाटो शिक्षामै छ, त्यसैले हामीले निरन्तर यस्ता कार्यक्रमहरू मार्फत उनीहरूलाई मुख्य प्रवाहमा ल्याउने प्रयास गरिरहेका छौं।”

प्रतिक्रिया
संबन्धित समाचार