लुम्बिनी प्रदेश सरकारले आज आर्थिक वर्ष २०८२/८३ काे नीति तथा कार्यक्रम ल्याएकाे छ । सरकारले ल्याएकाे नीति तथा कार्यक्रम प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले प्रदेशसभामा पढेर सुनाउनुभयाे ।

नीति तथा कार्यक्रममा प्रदेश सरकारले कृषि, पर्यटन र सिँचाइलाई प्राथमिकतामा राखेकाे छ । कृषिमा बाँझो जमिनको उपयोगदेखि करारखेतीसम्मका कार्यक्रमलाई अघि सारिएकाे छ ।

प्रदेश आयोजना बैंक, प्रदेश गौरवका आयोजना सम्पन्न गर्न प्राथमिकता, अधुरा आयोजना निर्माणलाई प्राथमिकता दिने विषय पनि नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै प्रदेश सरकारले स्वदेशी वस्तु एवम् उत्पादनको प्रयोग, उद्यमशीलता, रोजगारीको अवसर, युवा लक्षित कार्यक्रम अघि सारेकाे छ ।

सिँचाइ र कृषिको पारस्परिक सम्बन्धलाई प्रभावकारी बनाई ‘कृषकका गरा : सधैँ हराभरा’ भन्ने अभियानलाई कार्यान्वयनमा लैजान प्रदेशका सबै जिल्लामा कम्तीमा एउटा सिँचाइ र कृषिको एकीकृत योजना कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।