कपिलबस्तु । जिल्लाको मायादेवी गाउँपालिकाको आयोजनामा दुई दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पकडी स्वास्थ्य चौकीमा आयोजित दुईदिने निशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको हो । शिविरमा ५ सय १ जनाले स्वास्थ्य परीक्षण गराएका थिए, जसमा अधिकांश महिला सहभागी भई पाठेघर सम्बन्धी समस्याको परीक्षण गराएका थिए ।
शिविरमा ८१ जनाले सुगर, हेमोग्लोबिन, सरुवा रोग, हेपाटाइटिस, रक्त परीक्षण, पिसाब परीक्षण लगायतका सेवा लिएका थिए । परीक्षणपछि सबैलाई आवश्यक निशुल्क औषधि वितरण गरिएको थियो ।
शिविरमा सेवा प्रदान गर्ने चिकित्सकहरूमध्ये महिला रोग विशेषज्ञ डा. ज्योति राना, डा. रजत श्रीवास्तव, डा. सत्येन्द्र यादव तथा फिजियोथेरापी विशेषज्ञ रुद्र सुवन कहार लगायतले सेवा दिइएका थिए । साथै, पकडी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूको समेत सक्रिय सहभागिता रहेको थियो ।
सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष वालिउँद्दीन खानले गाउँवासीको स्वास्थ्य सुधारका लागि स्थानीय सरकार सदैव प्रतिबद्ध रहेको बताए ।
त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण तेलीले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको उल्लेख गर्दै यस्ता शिविरहरू भविष्यमा पनि निरन्तर सञ्चालन गरिने जानकारी दिए ।
स्थानीय बासिन्दाले यस्ता निशुल्क शिविर मार्फत ग्रामिण क्षेत्रका जनतालाई सहज र गुणस्तरीय सेवा प्राप्त हुने भन्दै आयोजकप्रति आभार व्यक्त गरेका छन् ।
















