तौलिहवा(कपिलबस्तु), जेठ २४ गते । जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्ने बताउनु भएको छ । जसपा नेपाल कपिलबस्तुको एकताको प्रथम जिल्ला अधिबेशनको उद्घाटन गर्दै सो कुरा उहाँले बताउनु भएको हो । अध्यक्ष यादवले ठूलो सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, नागरिकको मौलिक हकलाई संस्थागत गर्नु आजको आवश्यकता रहेको बताउनुभयो ।
नेपाली कांग्रेस र कम्युनिष्ट दलहरू संविधान र संघीयताको कार्यान्वयन प्रति गम्भीर र जिम्मेवार नदेखिएको आरोप समेत उहाँले लगाउनुभएको छ । नेपालको संविधान २०७२ त्रुटिपूर्ण रहेको अध्यक्ष यादव दाबी छ । संविधानले उल्लेख गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुसार कार्यान्वयन नभएको भन्दै त्यसलाई पुनर्लेखन गर्नुपर्ने उहाँले बताउनुभयो ।
अध्यक्ष यादवले भन्नुभयो “सात वटै प्रदेशको कुनै अर्थ नरहेको बताउनुभयो ।” उहाँले सुशासन एवं स्वायत्तता लागि नवलपरासी देखि कञ्चनपुरसम्म र भित्रि मधेशको भुभागलाई अलग प्रदेश बनाउनु पर्ने बताउनुभयो ।
सो अवसरमा जसपा नेपालका केन्द्रीय महासचिव एवं लुम्बिनी प्रदेश इञ्चार्ज रामकुमार शर्मा, राष्ट्रिय सभा सदस्य खालिद सिद्दिकी, लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काप्ले, केन्द्रीय सदस्यहरू अब्दुल रसिद, सुदिप पौडेल, साधिका यादव तथा लुम्बिनी प्रदेश अध्यक्ष रामअवतार यादव लगायतको सहभागिता रहेको थियो ।
















