बुद्धभूमिमा विद्यालयहरूलाई ई-हाजिरी प्रणाली र स्मार्ट टिभी वितरण

कपिलवस्तु जेठ ३० गते । प्रविधिमैत्री शिक्षाको प्रवर्द्धन तथा विद्यालय प्रशासनमा पारदर्शिता कायम गर्न बुद्धभूमि नगरपालिकाले विद्यालयहरूलाई ई-हाजिरी प्रणाली र प्रारम्भिक बालविकास कक्षाका लागि स्मार्ट टिभी वितरण गरेको छ।
नगरपालिकाले एक कार्यक्रमका बीच ५३ वटा विद्यालयहरूलाई ई-हाजिरी प्रणाली र २३ वटा विद्यालयलाई स्मार्ट टिभी हस्तान्तरण गरिएको हो।
कार्यक्रमको अध्यक्षता नगर प्रमुख केशव कुमार श्रेष्ठले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा प्रमुख प्रशासकीय अधिकृत श्री वासुदेव भट्टराईको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत कृष्ण प्रसाद भट्टराईले गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले विद्यालयमा समयमै उपस्थिति सुनिश्चित गर्न र शिक्षक तथा कर्मचारीहरूको जिम्मेवारीमा सुधार ल्याउन ई-हाजिरी प्रणालीको सुरुवात गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “अबदेखि नगरपालिकाले शिक्षामा प्रविधिको प्रभावकारी प्रयोग गर्दै पारदर्शिता, जवाफदेहिता र गुणस्तरमा केन्द्रित नीति अवलम्बन गर्नेछ।”
सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत भट्टराईले प्रविधिको उपयोगले शिक्षण सिकाइको गुणस्तरमा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “प्रारम्भिक बालविकास कक्षामा स्मार्ट टिभीको प्रयोगले बालबालिकाहरूको सिकाइ प्रक्रियालाई सहज, रोचक र प्रभावकारी बनाउनेछ।”
बुद्धभूमि नगरपालिकाले आगामी दिनहरूमा पनि प्रविधिको माध्यमबाट शैक्षिक सुधार तथा सुशासनमा आधारित कार्यक्रमहरू निरन्तर अगाडि बढाइने जनाएको छ।

प्रतिक्रिया
संबन्धित समाचार