स्वयंसेविकाको पेन्सन योजना सम्झौतामा रूरूक्षेत्र गाउँपालिका अगुवा
रूरूक्षेत्र (गुल्मी), जेठ ३० – रूरूक्षेत्र गाउँपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको दीर्घकालीन सुरक्षाका लागि नागरिक लगानी कोषसँग पेन्सन योजना सम्बन्धी ऐतिहासिक सम्झौता सम्पन्न गरेको छ।
गाउँपालिका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षता तथा नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतम, कोषका उप–निर्देशक नारायणप्रसाद घिमिरे, बुटवल क्षेत्रीय कार्यालय प्रमुख रामेश्वर पुडासैनी, अधिकृत शंकर अधिकारी, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, महिला स्वयंसेविका, करार सेवाका कर्मचारी तथा शिक्षकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन सामाजिक तथा आर्थिक विकास शाखाका प्रमुख दामोदर ज्ञवालीले गर्नुभएको थियो भने प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले स्वागत मन्तव्य राख्दै पेन्सन योजनाको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो।
गाउँपालिकाले स्वास्थ्य क्षेत्रका मेरुदण्डको रूपमा काम गरिरहेका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको योगदानलाई उच्च मूल्याङ्कन गर्दै यो पेन्सन योजना लागू गरेको हो। अध्यक्ष ज्ञवालीले भन्नुभयो, “स्वयंसेविकाको जीवन उत्तराद्र्धलाई सुरक्षित बनाउने दिशामा यो योजना प्रभावकारी हुनेछ।”
कार्यकारी निर्देशक कार्कीले नागरिक लगानी कोष महिला स्वयंसेविकाहरूको सामाजिक सुरक्षामा जोड दिन तयार रहेको र यो योजना अन्य पालिकाहरूका लागि पनि उदाहरणीय बन्ने बताउनुभयो।
नेपालमै पहिलोपटक स्वयंसेविकालाई लक्षित गरी पेन्सन योजना सञ्चालन गर्ने पालिकाको रूपमा रूरूक्षेत्र अगाडि आएको हो। आर्थिक वर्ष ०८१/०८२ साउन महिनादेखि लागू हुने यो योजनाअनुसार प्रत्येक स्वयंसेविकाका लागि वार्षिक १० हजार रुपैयाँका दरले ७७ जना स्वयंसेविकाको लागि कोषमा रकम जम्मा गरिने छ।
गाउँपालिकाले आगामी वर्षदेखि करार शिक्षक, विद्यालय कर्मचारी तथा अन्य अस्थायी सेवामा कार्यरत कर्मचारीलाई समेत समेट्ने गरी पेन्सन योजना विस्तार गर्ने लक्ष्य लिएको छ।
























