काठमाडौँ, असार ६ । त्रिभुवन विश्वविद्यालयका विद्यार्थी र प्राध्यापकले अब सरकारी अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानहरूमा उपचार सुविधा पाउने भएका छन्। यस सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र त्रिभुवन विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र त्रिविका उपकुलपति डा. खड्ग केसीको उपस्थितिमा मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त समझदारी गरिएको हो।
समझदारीअनुसार त्रिविको उपचार कोषमार्फत सेवाग्राहीले ९० प्रतिशत खर्च विश्वविद्यालयबाट र १० प्रतिशत व्यक्तिगत रूपमा व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ। यो सुविधा सबै संघीय सरकारी अस्पताल तथा प्रतिष्ठानमा लागू हुनेछ।
त्यस्तै, त्रिविले विद्यार्थी र प्राध्यापकलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन प्रोत्साहन गर्ने उल्लेख पनि उक्त समझदारीमा गरिएको छ।

















