लुम्बिनी प्रदेश सरकारका नवनियुक्त युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेयले सोमबार पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय, बुटवलमा आयोजित समारोहमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती समक्ष मन्त्री पाण्डेयले पद तथा गोपनीयताको शपथ लिए् । पाण्डेय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट मन्त्री नियुक्त भएका हुन् ।

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आइबार मात्रै पाण्डेयलाई मन्त्री नियुक्त गरी मन्त्रिपरिषद् बिस्तार गरेका थिए । यसअघि यो मन्त्रालय मुख्यमन्त्रीले आफैले सम्हाल्दै आएको थिए । लोसपाले प्रदेश सरकारको वजेटमाथि छलफल भइरहँदा प्रतिपक्षी दलहरुले वहिष्कार गरेका बेला एकाएक सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्न गएको थियो । तीन सांसद रहेको लोसपामा उनी संसदीय दलका नेता थिए ।

यसअघि ११ सदस्यीय मन्त्रिमण्डलमा मुख्यमन्त्री सहित ५ जना मन्त्री एमालेबाट, ५ जना कांग्रेसबाट र जसपाबाट एकजना मन्त्री थिए । अब मन्त्रिपरिषद् १२ सदस्यीय भएको छ । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री आचार्य, पूर्वमुख्यमन्त्री डिल्लिबहादुर चौधरी, प्रदेशका मन्त्रीहरुको उपस्थिति थियो । पाण्डेय यसअघि प्रदेश सरकारमा दुई पटक मन्त्री भइसकेका छन् ।