कपिलवस्तु, साउन ३१ ग्ते । कपिलवस्तुको तिलौराकोट सामुदायिक सिकाई केन्द्र, सेमरिमा भाद्र ३ गते (मंगलवार) निःशुल्क स्वास्थ्य शिविर हुने भएका छ । उक्त शिविर मंगलबार बिहानदेखि कोरियाली चिकित्सकहरूको टोलीद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालित हुने भएको छ । यस शिविरमा स्वास्थ्य परीक्षणदेखि औषधि वितरणसम्म निःशुल्क सुविधा उपलब्ध गराइएको छ ।
आयोजकका अनुसार शिविरमा नसारोग, वाथरोग, गठियारोग, जोर्नी दुखाइ र कम्मर दुखाइका विरामीलाई एक्युपन्चर उपचारसमेत उपलब्ध हुनेछ । सामान्य स्वास्थ्य समस्याको परीक्षण र उपचारसँगै आवश्यक परे औषधि वितरण पनि निःशुल्क गरिने जनाइएको छ । बिहान ८ बजेदेखि सुरु हुने शिविर तिलौराकोट सामुदायिक सिकाई केन्द्र (सी.एल.सी.) भवनमै सञ्चालन हुने छ ।
केन्द्रकाअध्यक्ष जुबेर अहमद खाँले स्वास्थ्य शिविरको आयोजना स्थानीयवासीका लागि ठूलो अवसर भएको बताए । “हाम्रो क्षेत्रका अधिकांश मानिसहरू आर्थिक अवस्था कमजोर भएका कारण समयमै अस्पताल पुग्न सक्दैनन् । यस्तो अवस्थामा कोरियाली डाक्टरको सहयोगमा भइरहेको निःशुल्क शिविरले धेरैलाई राहत दिनेछ,” उनले भने ।
उनका अनुसार, विगतमा पनि सामुदायिक स्तरमा विभिन्न खाले स्वास्थ्य कार्यक्रम भए पनि यसपालि एक्युपन्चर उपचारजस्तो विशेष विधि गाउँमै उपलब्ध हुनु स्थानीयका लागि नयाँ अनुभव भएको छ । उनले सबैलाई स्वास्थ्य परीक्षण गराउन उपस्थित भई मौकाको सदुपयोग गर्न आग्रह गरे ।
आयोजना भएको शिविरले विशेष गरी ज्येष्ठ नागरिक, शारीरिक दुखाइसँग संघर्ष गरिरहेका श्रमिक वर्ग र आर्थिक कठिनाइ भोगिरहेका परिवारलाई उपयोगी हुने अपेक्षा गरिएको छ ।
आयोजकले शिविरमा सहभागिताका लागि सेमरी र वरपरका बस्तीहरूमा आह्वान गर्दै सम्भव भएसम्म धेरैलाई लाभ दिलाउने तयारी गरेको जनाएको छ ।