कपिलबस्तु, भदौ १७ गते । जिल्लाको कपिलबस्तु नगरपालिकाको एक विद्यालयमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री र अभिभावकलाई खाद्यान्न वितरण गरिएको छ । नगरपालिकाको वडा नं. ९ हरनामपुर स्थित श्री राम जानकी आधारभूत विद्यालयमा विद्यार्थीहरुलाई पोशाक, टोपी, स्वीटर, कपी, कलम, झोला, पेन्सिल वितरण गरिएको छ भने अभिभावकहरुलाई चामल र तेल उपलब्ध गराइएको थियो ।
सो अवसरमा बोल्दै कपिलबस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले यस्ता सहयोग ीकार्यक्रमहरुले बालबालिकाको पढाईमा उत्साह थप्ने र समाजलाई सकारात्मक दिशामा लैजाने बताउनुभयो । विद्यार्थीहरुलाई शैक्षिक सामग्री र अभिभावकहरुलाई खाद्यान्न उपलब्ध गराइएको कार्य प्रशंसनिय योग्य रहेको उहाँले बताउनुभयो ।
पौडेलले नगरपालिकाले प्रत्येक घरधुरीलाई स्वास्थ्य बीमा गर्दा ५० प्रतिशत अनुदान दिने व्यवस्था गरेको जानकारी दिँदै उक्त सुविधाबाट सबैले लाभ लिन आग्रह गरे। उनले नगरपालिकाले सञ्चालन गरिरहेको स्वास्थ्य सेवा, शिक्षा तथा सामाजिक क्षेत्रमा गरिएका योजनाबारे पनि जानकारी गराएका थिए ।
कार्यक्रममा चुजी फाउन्डेसन नेपालका ब्रो विलियम याङले कपिलवस्तुमा निरन्तर सामाजिक सेवा गर्दै आएको उल्लेख गर्दै शिक्षामै आधारित कार्यक्रमलाई प्राथमिकतामा राखिने बताउनुभयो ।
राइट टु एक्सेस नेपालका विनोद पौडेलले यस किसिमका कार्यक्रमले विपन्न बालबालिकालाई शिक्षा प्राप्त गर्न सहज बनाउने बताउनुभयो । समाजसेवी राजेश ज्ञवालीले फाउन्डेसनमार्फत सामाजिक उत्तरदायित्व तर्फ विभिन्न किसिमका कार्यहरु भइरहेकोे जानकारी दिंदै यसले समुदायमा सकारात्मक प्रभाव पारेको बताउनुभयो ।
सोही अवसरमा समाजसेवी छेदनी थारुले विद्यालयका लागि अक्षयकोष स्थापना गर्न रु. १ लाख १ हजार १०५ रुपैयाँ सहयोग गर्ने घोषणा गरे। “राम्रो काम गर्नका लागि धनी हुनुपर्दैन, मनको धनी हुनु आवश्यक छ,” भन्दै उनले बालबालिकाको उज्ज्वल भविष्यका लागि निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष कमलादेवी पौडेलको अध्यक्षतामा कार्यक्रममा नगरपाकिलाका सामाजिक विकास अधिकृत पदम श्रेष्ठलगायतले शुभकामना मन्तव्य दिइएका थिए ।