तौलिहवा(कपिलबस्तु), भदौ १८गते । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्य तथा पूर्व एसएसपी विक्रम सिंह थापालाई पदमुक्त गरिएको विरोधमा उनका समर्थकले कपिलवस्तु जिल्ला पार्टी कार्यालयमा तोडफोड, तालाबन्दी र विरोध प्रदर्शन गरेका छन् ।
उक्त घटनाको छानबिनका लागि जिल्ला कार्यसमितिको बुधबार तौलिहवामा बसेको बैठकले जिल्ला अनुशासन समितिलाई जिम्मा दिएको छ । पार्टी जिल्ला सभापति अब्दुल कलामका अनुसार समितिलाई २४ घण्टाभित्र प्रतिवेदन पेश गर्न समय सीमा तोकिएको बताउनुभयो ।
अनुशासन समितिको संयोजकमा टेक बहादुर शाही तथा सदस्यमा खिमकला पाण्डेय र दुर्गेश पाण्डेय रहेका छन् । बैठकले घटनाको घोर भत्र्सना गर्दै समितिबाट प्राप्त प्रतिवेदनका आधारमा आवश्यक कारबाही अघि बढाइने सभापति कलामको भनाई छ ।
मनोनित सदस्य थापालाई पार्टी लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले गत साउन ११ गते पदमुक्त गरेका थिए ।