कपिलवस्तु, भदौ २९ गते । विगत केही दिनयता कपिलवस्तु जिल्लाका विभिन्न स्थानहरूमा अनुमतिविना मानवरहित हवाई उपकरण (ड्रोन) उडान भइरहेको भन्दै जिल्ला प्रशासन कार्यालयले गम्भीर ध्यानाकर्षण जनाएको छ।

ड्रोन गतिविधिबाट जनमानसमा त्रासको वातावरण सिर्जना हुनुका साथै सुरक्षा चुनौती बढ्न सक्ने भन्दै प्रशासनले कडा चेतावनी दिएको हो। सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले कार्यान्वयनमा ल्याएको मानवरहित हवाई उपकरण उडान कार्यविधि, २०७५ विपरीत गतिविधि पाएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने प्रशासनले जनाएको छ।

“अनुमति बिना ड्रोन उडान गरेको देखिएमा तत्काल नजिकको सुरक्षा निकायलाई खबर गरी सहयोग गरिदिनु हुन जिल्लावासीलाई हार्दिक अनुरोध गर्दछौँ,” सहायक प्रमुख जिल्ला अधिकारी पदम लाल लामिछानेले विज्ञप्तिमार्फत जानकारी गराएका छन्।