तौलिहवा(कपिलबस्तु), कात्तिक ४ गते । नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका विभागीय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्बेदीले प्रहरी सेवामा पारदर्शिता, जनविश्वास र जवाफदेहिताको संस्कृति अभिवृद्धि गर्न जोड दिनुभएको छ । उहाँले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा आयोजित निर्देशन तथा सम्बोधन कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
प्रहरी अतिरिक्त महानिरीक्षक चतुर्बेदीले प्रहरी संगठनको कार्यशैलीलाई अझ प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउन आवश्यक निर्देशन समेत दिनु भएको हो ।


प्रहरी संगठनको गरिमा र विश्वसनीयता कायम राख्न प्रत्येक प्रहरी कर्मचारीले उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गर्नुपर्ने अतिरिक्त महानिरीक्षक चतुर्बेदीको भनाई छ । उहाँले भन्नुभयो “नागरिकले प्रत्यक्ष रूपमा अनुभूति गर्ने पारदर्शी र निष्पक्ष सेवा नै प्रहरीको वास्तविक पहिचान हो ।”


उहाँले हरेक प्रहरी सदस्यले आफ्नो आचरणमा अनुशासन, इमानदारी र निष्ठा कायम राखी त्रुटिरहित ढङ्गले जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टले अतिरिक्त महानिरीक्षकबाट प्राप्त निर्देशनहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।


सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक सन्तोष आचार्य, प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंह, प्रहरी निरिक्षक, मातहतका युनिट इन्चार्जहरू र अन्य प्रहरी अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।