कपिलवस्तु । यशोधरा गाउँपालिकाका विभिन्न टोल–टोलमा रहेका ३२ वटा महिला समूहका सदस्यहरूले मंगलबार साँझ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पूर्वसन्ध्यामा भव्य दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेका छन्। “हामी हिंसा सह्दैनौँ” भन्ने सशक्त सन्देशसहित गरिएको यो सामूहिक क्रियाकलापले गाउँभर लैङ्गिक हिंसाविरुद्ध एकताको बलियो वातावरण निर्माण गरेको स्थानीयले बताएका छन्।

दलित सामाजिक विकास केन्द्र र यु.एम.एन. को संयुक्त साझेदारीमा सञ्चालित ‘जीवन सुधार परियोजना’को सहयोगमा सम्पन्न कार्यक्रमले महिला तथा किशोरीबीच जागरूकता र साहस दुवै बढाएको आयोजकहरूको भनाइ छ। दीप प्रज्वलनसँगै महिलाहरूले गाउँका सडक, चोक तथा सामुदायिक स्थानहरूमा भेला भई “महिला सुरक्षित, समाज सुरक्षित”, “हिंसा मुक्त परिवार हाम्रो आवश्यकता” जस्ता नारा उच्चारण गर्दै हिंसा विरुद्ध सामूहिक प्रतिरोधको सन्देश दिए।

कार्यक्रमका क्रममा लैङ्गिक हिंसाका प्रकार, यसको सामाजिक–मानसिक असर तथा रोकथामका उपायबारे छोटो संवाद र अभिमुखीकरणका गतिविधिहरू पनि सञ्चालन गरियो। कार्यक्रममा आत्मनिर्भर समूहका सदस्य, स्थानीय महिलाहरू, किशोरी, सामाजिक परिचालक तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। ३२ वटा महिला समूहको संयुक्त उपस्थिति र नेतृत्वले समुदायमा सकारात्मक ऊर्जा फैलाएको आयोजकहरूले बताए।

उनीहरूका अनुसार, “यो कार्यक्रमले महिलामा आत्मविश्वास बढाएर हिंसा विरुद्ध खुला रूपमा आवाज उठाउने वातावरण तयार गरेको छ।” लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत यशोधरा गाउँपालिकामा आगामी दिनहरूमा समेत विभिन्न सचेतनामूलक गतिविधि निरन्तर सञ्चालन गरिने जनाइएको छ।