काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
आइतबार विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
त्यस्तै अदालतले प्राधिकरणका तत्कालीन निर्देशक मुरारी भण्डारीसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको छ । धरौटी रकम बुझाएपनि भण्डारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रियामा भ्रष्टाचारको आरोपमा समेत मुछिएकाले हिरासतमै बस्नुपर्ने भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक अधिकारीसहित ६ जना र एक कन्सल्टिङ प्रालिविरुद्ध भक्तपुरको नलिञ्चोक हेलिपोर्ट निर्माणको क्रममा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो ।
उनीविरुद्ध सोहि बराबरको रकम विगो माग गरिएको छ । आयोगले अधिकारीसहित तत्कालीन निर्देशक मुरारी भण्डारी, उप प्रबन्धक नल विक्रम थापा,वरिष्ठ अधिकृत तथा हाल उपप्रबन्धक सम्वृद्धि श्रेष्ठविरुद्ध मुद्दा दायर भएको हो । परापर्शदाता गुरूदत्त अधिकारी र अभियन्त्र कन्सल्टिङ्ग प्रालि तथा उक्त कम्पनीका तत्कालीन सञ्चालक विजय थापालाई विपक्षी बनाउँदै मुद्दा दायर गरिएको हो । भ्रष्टाचार मुद्दामा मुछिएपछि उनी प्राधिकरणको महानिर्देशकबाट निलम्बनमा परेका छन्।
















