यशोधराको परसोहियामा किशोरहरू बिच खाना बनाउने प्रतियोगिता

कपिलबस्तु, मंसिर २१ गते । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत यशोधरा गाँउपालिकाको परसोहियामा किशोरहरु बिच खाना बनाउने प्रतियोगिता सम्पन्न भएको छ । ‘प्रविधीको सही प्रयोग गरौँ ः लैङ्गिक हिंसा अन्त्य गरौँ’ मूल नाराका साथ उक्त प्रतियोगिता भएको हो । दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको आयोजना केएनएचको सहयोग, यशोधरा गाउँपालिकाको समन्वयमा भएको थियो ।
खाना बनाउने प्रतियोगितामा यशोधरा गाउँपालिका ४ विद्या बालक्लब परसोहियाका आदर्श कोरी र राजिन्दर यादवको समुह प्रथम, आमा बाल क्लब सेमरीका राज कुमार पासी र विशाल कोहारको समुह द्वितीय, सागरमाथा बालक्लब सोमडिहका अंग्रेज रैदास र धिराज रैदासको समुह तृतीय र बगमती बाल क्लब सिहोखोरका हरिशंकर धोवी र शिवा हरिजनको समुह सन्त्वना स्थान हासिल गरेका थिए ।
नृत्य प्रतियोगितामा रिता धोबी प्रथम, साधना कहांर, सोनी कहांर द्वितीय, कुसुम चौधरी तृतिय र आचल रैदास र कोमल रैदास सन्त्वना स्थान हासिल गरेकी हुन् ।
सो अवसरमा बोल्दै केन्द्रकी सदस्य अनिता श्रीमालले किशोर उमेरमै सीप विकाससँगै समानताको मूल्य प्रवाह गर्नुपर्ने बताइन् । “कुनै काम महिला वा पुरुषको मात्र होइन भन्ने चेतना विस्तारका लागि यस्तो कार्यक्रम प्रभावकारी हुन्छ,” उनले भनिन् ।
त्यस्तै ‘हाम्रो पहुँच’ परियोजनाका वरिष्ठ परियोजना अधिकृत गोविन्द धवालले लैङ्गिक समानतालाई व्यवहारमा उतार्न घरायसी काममा पुरुषको सक्रियता अनिवार्य रहेको उल्लेख गर्नुभयो । “लैङ्गिक हिंसा न्यूनिकरणका लागि सोच र व्यवहार दुवै परिवर्तन आवश्यक छ,” उनले भने ।
सन्देश महिला सञ्जालकी अध्यक्ष निर्मला रैदासको अध्यक्षता, ‘हाम्रो पहुँच’ परियोजनाकी परियोजना अधिकृत विन्दबसिनी हरिजनको सञ्चालन, सहजकर्ता पुष्पादेवी पासीको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रममा केन्द्रका लेखा अधिकृत दिनेश गुप्ता, स्थानीय बाल क्लब, महिला सञ्जाल तथा विभिन्न समूहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
संबन्धित समाचार