यातायात कार्यालय तौलिहवामा नगद राजश्व बुझ्ने समय सीमित, डिजिटल भुक्तानीलाई प्राथमिकता

कपिलवस्तु । सरकारी राजश्व संकलन तथा दाखिलामा पारदर्शिता र समयबद्धता कायम गर्न यातायात व्यवस्था सेवा कार्यालय तौलिहवाले दैनिक नगद राजश्व बुझ्ने समय सीमित गर्ने निर्णय गरेको छ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ५८(४) अनुसार संकलित राजश्व सोही दिन बैंकमा दाखिला गर्नुपर्ने व्यवस्था रहेकाले कृषि विकास बैंकले फागुन १५ सम्म दिउँसो ३ बजेपछि नगद काउन्टर नखोल्ने जानकारी दिएपछि कार्यालयले नयाँ समय लागू गरेको हो।
कार्यालयका प्रमुख गोविन्द चौधरीका अनुसार बैंकको समयतालिका अनुसार दैनिक हिसाब मिलान गर्नुपर्ने बाध्यताका कारण कार्यालयले दिउँसो २:३० बजेपछि नगद राजश्व नलिने व्यवस्था अपनाउनुपरेको हो। “बैंकले ३ बजेपछि नगद काउन्टर बन्द गर्ने भएपछि हामीले पनि त्यहीअनुसार राजश्व संकलनको समय मिलाउनुपरेको हो। सेवाग्राहीलाई असुविधा नहोस भनेर समयमै जानकारी गराएका छौँ,” प्रमुख चौधरीले भने।
कार्यालयले दैनिक बुझ्ने नगद सीमा १० हजार रुपैयाँ तोकेको छ। सोभन्दा बढी रकम तथा सहज प्रवाहका लागि QR र अन्य डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गरिएको छ।
“सेवाग्राही QR वा विद्युतीय माध्यम प्रयोग गर्न चाहनुहुन्छ भने कोठा नं. २ मा आवश्यक सहयोग उपलब्ध गराइनेछ,” प्रमुख चौधरीले जानकारी दिए।
डिजिटल भुक्तानीतर्फ सरकारी कार्यालयहरूलाई उन्मुख गराउने प्रयासका बीच तौलिहवाको नयाँ व्यवस्था राजश्व संकलन प्रणालीलाई अझ व्यवस्थित र पारदर्शी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
संबन्धित समाचार