तौलिहवा (कपिलबस्तु) । कपिलबस्तुमा विश्व ध्यान दिवस मनाइएको छ । ‘आन्तरिक शान्तिले विश्वव्यापी सद्भाव ल्याउँछ’ भन्ने नाराका साथ कपिलबस्तु आयुर्वेद स्वास्थ्य केन्द्रको अयोजनामा उक्त दिवस मनाइएको हो ।
संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रूपमा मनाउने घोषणा गरे अनुसार नेपालमा पनि ध्यान दिवस मनाउने गरिएको छ । गएको वर्ष डिसेम्बर ७ तारिखमा संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई आधिकारिक रूपमा विश्व ध्यान दिवसको मान्यता दिएको थियो । सन् २०१४ देखि नै यो प्रस्ताव अघि बढाइएको थियो । राष्ट्रसङ्घको महासभाले नेपालसहित १८ देशको प्रस्ताव पारित गरेपछि ध्यान दिवस मनाउन थालिएको हो ।
केन्द्रका वरिष्ठ कविराज निरिक्षक हरिलाल पाध्याले सामुहिक ध्यान अभ्यास गराएका थिए भने डा अनुषा घिमिरेले मानसिक स्वास्थ्यको बारेमा जानकारी गराउनु भएको थियो ।
सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी जनर्दन गौतमले ध्यान र योग पौराणिक कालदेखि नै मानव जीवनसँग जोडिएको महत्वपूर्ण अभ्यास रहेको बताउनुभयो । उहाँले ध्यानको उपयोगिताबारे हरेक नागरिकलाई बुझाउन आवश्यक रहेको उल्लेख गर्दै भन्नुभयो, “विश्वले ध्यान र योगलाई आत्मसात गरिसकेको अवस्थामा हामीले पनि यसलाई व्यवहारमा उतार्न जरुरी छ । ध्यानले मानसिक शान्ति, अनुशासन र सकारात्मक सोचको विकास गर्छ ।”
प्रमुख जिल्ला अधिकारी गौतमले तनावपूर्ण जीवनशैलीका कारण बढ्दै गएको मानसिक स्वास्थ्य समस्याको समाधानका लागि ध्यान र योग प्रभावकारी माध्यम भएको बताउँदै यसको अभ्यासलाई दैनिक जीवनमा अपनाउन सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर नालिन नाथ तिवारीले ध्यान र योगले शारीरिक तथा मानसिक स्वास्थ्यमा दीर्घकालीन लाभ पु¥याउने बताउनुभयो । उहाँले आयुर्वेद र योग परम्परागत उपचार पद्धति मात्र नभई वैज्ञानिक रूपमा पनि प्रमाणित हुँदै गएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तव, मायादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र यादव, प्रहरी उपरीक्षक सन्तोष आचार्य, जीवन विज्ञानका प्रशिक्षक कमला भण्डारी रायमाझी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि र नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
















