काठमाण्डौ – तराई/मधेशका धेरैजसो ठाउँमा आज हुस्सु लागेको छ । कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई भागमा हुस्सु/कुहिरो तथा बाँकी तराई भागका थोरै ठाउँमा हुस्सु लागेको छ । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा मौसम आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

काठमाण्डौमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस मापन भएको छ । हिजो काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम २.४ डिग्री सेल्सियस रहेको थियो ।

काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढेको छ । चिसोबाट जोगिन न्यानो कपडा लगाउन, तातो झोलिलो खान, काम नपरी घरबाहिर ननिस्कन, बालबालिका, वृद्धवृद्धा र दिर्घरोगीको विशेष ख्याल गर्न डाक्टरको सल्लाह छ ।