कांग्रेस विशेष महाधिवेशन : आजको बन्दसत्र बिहान ९ बजेदेखि, केन्द्रीय कार्यसमितिको बैठक बस्दै
काठमाण्डौ – काठमाण्डौको भृकुटीमण्डपमा चलिरहेको नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत बन्दसत्र आज बिहान ९ बजेदेखि पुनः शुरु हुँदैछ । दोस्रो विशेष महाधिवेशन अस्ति आइतवारदेखि शुरु भएको हो ।
हिजोसम्म चल्ने भनिएको विशेष महाधिवेशन लम्बिएको छ । हिजो बन्दसत्र शुरु भएपछि विभिन्न प्रतिवेदन पेश भएका छन् । ती प्रतिवेदनमा छलफल लम्बिएकाले महाधिवेशनको कार्यतालिका संशोधन गरिएको दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ ।
नेता सुवास पोखरेलका अनुसार विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेहरुको सङ्ख्या अस्ति २ हजार ६ सय ६२ रहेकोमा हिजो ६.२४ प्रतिशतले बढेको छ । आज नेतृत्व चयनबारे बन्दसत्रले आवश्यक प्रकृया गर्नेछ । यस्तै संस्थापन पक्षसँगको छलफल पनि निरन्तर छ । सभापति शेरबहादुर देउवा र विशेष महाधिवेशन आयोजना गरिरहेका नेताहरुबीच गएराति पनि छलफल भएको नेताहरुले बताएका छन् ।
यसैबीच नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बिहान ११ बजे बस्ने बैठकमा पार्टीको पछिल्लो विकसित परिस्थितिका बारेमा छलफल हुनेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु र सात वटै प्रदेशका सभापतिलाई उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।


















