जैविक स्रोत संरक्षणमा नागरिक सचेत हुनुपर्छः उपराष्ट्रपति
काठमाडौँ, माघ १ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा जोड दिनुभएको छ । माघी पर्व (माघे सङ्क्रान्ति), २०८२ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले स्रोतको संरक्षण र दिगो उपयोगमा आमनागरिक र सरोकार भएका सबै सचेत हुनुपर्ने उल्लेख गर्नुभएको हो ।
उपराष्ट्रपति यादवले भन्नुभएको छ, “नेपालमा माघी पर्वको दिनलाई राष्ट्रिय कृषि जैविक विविधता दिवसका रूपमा पनि मनाइन्छ । तीनै तहका सरकारलाई संरक्षणको जिम्मेवारी दिइएको छ, नेपाल अन्तरराष्ट्रिय महासन्धिहरूको पक्ष राष्ट्र भएकाले जैविक विविधता संरक्षणको महत्व अझ बढेको छ । यस विषयमा आमनागरिक र सरोकार भएका सबै सचेत भई संरक्षण र दिगो उपयोगमा जोड दिनु आजको आवश्यकता हो ।”
संविधानले जैविक स्रोतको संरक्षण र दिगो उपयोगलाई राज्यको नीतिमा समेटेको पनि उहाँले उल्लेख गर्नुभएको छ ।
विभिन्न नामले मनाइने चाडपर्वको साझा सन्देश राष्ट्रियता, भाइचारा, मेलमिलाप, मैत्रीभाव र अपनत्वलाई बलियो बनाउनु रहेको भन्दै उपराष्ट्रपति यादवले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाभिमानलाई अक्षुण्ण राख्दै जनताको अधिकार, स्वशासन र समृद्धिको मार्गमा अघि बढ्न प्रेरणा दिने विश्वास पनि व्यक्त गर्नुभएको छ ।
नेपालमा प्रत्येक वर्ष माघ १ गते विभिन्न भूगोल, समुदाय र संस्कृतिअनुसार यो पर्वलाई आ–आफ्नै मौलिक नामले उल्लासपूर्वक मनाउने परम्परा रहिआएको छ । थारू समुदायले यसलाई नयाँ वर्षको प्रारम्भका रूपमा ‘माघी’ भनी मनाउँछन् भने मगर समुदायले मौलिक नयाँ वर्षका रूपमा मनाउने चलन छ । मधेशी समाजमा ‘तिला सङ्क्रान्ति’, किरात समुदायमा राजा यलम्बरको स्मरणार्थ ‘येले संवत्’, छन्त्याल समुदायमा ‘छार म्हेङ’ नामले मनाइन्छ । नाम फरक भए पनि यसको मूल भाव भने विविधतामा एकता र सांस्कृतिक गौरवलाई उजागर गर्नु हो ।
उपराष्ट्रपति यादवले भन्नुभएको छ, “हिन्दू धर्मावलम्बीहरूले यस दिनलाई पुण्यतिथि मानेर सूर्यदेव र भगवान् विष्णुको आराधना गर्छन् । सूर्यदेवको उत्तरायण यात्रा प्रारम्भ हुने दिन भएकाले पवित्र नदीमा स्नान, दान र धार्मिक अनुष्ठान गर्ने परम्परा छ, यसरी मनाइने पर्वले विभिन्न जातजातिका परम्परा र संस्कृतिलाई जीवित राख्दै सामाजिक सद्भाव र धार्मिक आस्थालाई बलियो बनाउँदछ ।”
यस दिन दान–पुण्य गर्ने परम्पराले समाजमा सहयोग, करुणा र सहअस्तित्वको भावना जागृत गर्ने र विपन्न तथा असहायलाई सहयोग गर्ने संस्कारले सामाजिक उत्तरदायित्वलाई बलियो बनाउने उहाँको भनाइ छ ।


















