कपिलवस्तु । मायादेवी गाउँपालिकामा जातीय विविधता तथा धार्मिक विभेदका कारण हुन सक्ने हिंसात्मक घटना रोकथाम तथा अन्त्यका लागि खिचडी सहभोज कार्यक्रम सम्पन्न भएको छ।
परिवर्तनका लागि बालबालिका, युवा र समुदाय परियोजनाअन्तर्गत आयोजित उक्त कार्यक्रम युनाइटेड मिसन टु नेपाल र दलित समाज विकास केन्द्रको सहकार्यमा सञ्चालन गरिएको हो। परियोजना हाल मायादेवी गाउँपालिकामा कार्यान्वयन भइरहेको छ।
कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका विभिन्न जात, धर्म र समुदायका व्यक्तिहरूलाई एकै स्थानमा भेला गराई आपसी संवाद, समझदारी र सद्भाव अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो। सहभोजमार्फत सबै समुदायबीच समानता, सहअस्तित्व र आपसी सम्मानको सन्देश प्रवाह गरिएको आयोजकले बताएका छन्।
कार्यक्रममा वडा नं. ३ का जानकी युवा क्लब, वडा नं. २ का लुम्बिनी समाज तथा वडा नं. ६ का लक्ष्मी युवा क्लबको सक्रिय सहभागिता रहेको थियो। ती संस्थाहरूले स्थानीय तहमा जातीय तथा धार्मिक विभेद न्यूनीकरणका लागि निरन्तर पहल गर्दै आएका छन्।
समुदायमा देखिँदै आएका जातीय तथा धार्मिक द्वन्द्व र सम्भावित हिंसाका घटनालाई अन्त्य गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको परियोजना संयोजक जितेन्द्र चौधरीले जानकारी दिनुभयो। यस्ता कार्यक्रमले समुदायबीच विश्वास र सहकार्य बढाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।