कपिलवस्तु (मायादेवी) । दलित सामाजिक विकास केन्द्र र युनाइटेड मिसन नेपालको संयुक्त साझेदारीमा सञ्चालित ‘परिवर्तनका लागि बालबालिका, युवा र समुदाय’ परियोजना अन्तर्गत मायादेवी गाउँपालिकामा पालिका स्तरीय वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा गाउँपालिकाभित्रका नौवटा विद्यालयका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। वक्तृत्वकला प्रतियोगिता बालविवाह, बालगर्भधारण तथा कम उमेरमा बच्चा जन्माउँदा देखिने समस्या, असर र रोकथामका उपाय विषयमा केन्द्रित रहेको आयोजकले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष वलिउद्दिन मुसलमानले बालअधिकार संरक्षण र सामाजिक विकृति न्यूनीकरणका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। उहाँले विद्यालय तहबाटै सचेतना अभिवृद्धि गर्न सके समाजमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउन सकिने उल्लेख गर्नुभयो।

शिक्षक रामनिवास चौहानले विद्यार्थीहरूमा नेतृत्व क्षमता, सार्वजनिक अभिव्यक्ति र आलोचनात्मक सोच विकासका लागि वक्तृत्वकला जस्ता गतिविधि उपयोगी हुने बताउनुभयो।

कार्यक्रममा नौवटै विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अभिभावकहरूको उपस्थिति रहेको थियो। सहभागी विद्यार्थीहरूलाई प्रशंसापत्र तथा पुरस्कार प्रदान गरिएको साथै सहभागी प्रत्येक विद्यालयलाई सम्मानपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।