काठमाण्डौ – माघ लागेदेखि जाडो बिस्तारै कम हुन थालेको छ । बिहान बेलुका चिसै भए पनि दिउँसो घामले पोल्ने गरेको छ । बिहान र बेलुकाको समयमा पनि तापक्रम पहिलेकोभन्दा केही बढ्न थालेको छ ।

पुसको अन्तिम हप्ता काठमाण्डौको न्यूनतम तापक्रम २ डिग्री सेल्सियससम्म झरेकोमा त्यसपछि भने बढ्न थालेको हो । आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको छ । देशका अरु ठाउँमा पनि तापक्रम केही बढेको छ । अहिले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नुका साथै पहाडी भूभागमा आंशिक बादल लागेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै तराई भूभागका थोरै ठाउँमा हुस्सु लागेको छ ।

भोलि पर्सिदेखि तराईमा हुस्सु र कुहिरो हराउँदै जाने जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले बताउनुभएको छ । उहाँका अनुसार आउँदो शुक्रवारदेखि आइतवारसम्म पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, लुम्बिनी, कर्णाली हुँदै पूर्वी भागसम्म हिउँदे वर्षा र उच्च हिमाली क्षेत्रमा राम्रो हिमपातको सम्भावना छ ।

पश्चिम तराईमा हल्का वर्षाको सम्भावना भए पनि पूर्वी तराईमा बादल मात्रै लाग्ने उहाँको भनाइ छ ।