विद्यालय केन्द्रित एपीभी खोप अभियानबारे नगरस्तरीय अभिमुखीकरण
सुकई कोहार
लुम्बिनी(रुपन्देही) । लुम्बिनी सांस्कृतिक नगरपालिकामा विद्यालय केन्द्रित एपीभी खोप अभियान सम्बन्धी नगरस्तरीय खोप समन्वय समिति तथा स्वास्थ्य संस्थाका प्रमुखहरूका लागि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रम नगर प्रशासकीय अधिकृत तारा ज्ञवालीको अध्यक्षतामा तथा शिक्षा शाखा नगर प्रमुख हरिप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा स्वास्थ्य शाखा नगर प्रमुख ध्रुवराज घिमिरे अतिथिका रूपमा सहभागी रहनुभएको थियो।
कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका राजेन्द्रप्रसाद चौधरीले गर्नुभएको थियो। अभिमुखीकरणमा नगरका सबै वडाध्यक्षहरू, स्वास्थ्य चौकीका इन्चार्जहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वास्थ्य शाखा नगर प्रमुख ध्रुवराज घिमिरेले एपीभी खोप अभियानको उद्देश्य, लक्षित समूह, खोप सञ्चालन विधि तथा विद्यालय तहमा समन्वयको भूमिकाबारे जानकारी गराउनुभएको थियो। उहाँले पाठेघरको क्यान्सरजस्ता गम्भीर रोगबाट किशोरीहरूलाई सुरक्षित राख्न एपीभी खोप प्रभावकारी माध्यम भएको उल्लेख गर्दै सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।
कार्यक्रमले अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तह, विद्यालय र स्वास्थ्य संस्थाबीच सहकार्य सुदृढ गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।



















