कपिलबस्तुमा कुष्ठरोग निवारण चुनौती बन्दै
लुम्बिनी समय । संवाददाता
कपिलवस्तुमा चालु आर्थिक वर्षको ६ महिनामा ३९ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । गत आर्थिक वर्ष २०८१–०८२ मा १ सय २८ जना कुष्ठरोगी फेला परेका थिए । प्रति १० हजारमा १ प्रतिशतभन्दा कम हुनु पर्नेमा कपिलवस्तुमा भने अझै १ दशमलव ६ प्रतिशतले कुष्ठरोगी फेला परेका हुन् ।
सबैभन्दा बढी महाराजगंज नगरपालिकमा ११ जना नयाँ रोगी फेला परेका छन् । जिल्ला स्वास्थ्य कार्यालयद्वारा आयोजित पत्रकार अन्तरक्रिया र छलफल कार्यक्रममा कार्यालय प्रमुख गौरव ढकालले कपिलवस्तुमा कुष्ठरोग निवारण चुनौती बन्दै गएको बताए ।
जिल्लामा १३ वर्षअघि कुष्ठरोग निवारण भएको घोषणा गरिए पनि कुष्ठ रोगीको फेला पर्ने दरमा कमी आएको छैन । वर्षोदेखि शुन्यमा झार्ने अभियान संचालन गरीरहँदा कपिलवस्तुमा भने कुष्ठरोगीको संख्या बढ्दै गएको हो । अचेतना र खुला सीमाका कारण कुष्ठरोगीको संख्या बढ्दै गएको प्रमुख ढकालले बताए । स्वास्थ्य कार्यालय कपिलवस्तुका क्षयकुष्ठ अधिकृत माहोमद ईरफानले कपिलवस्तुसहित १६ जिल्लामा अझै फेला पर्नेदर एक प्रतिशत भन्दा बढी रहेको बताए । अशिक्षा र खुला सीमाकाकारण ओहोरदोहर बढ्दा बिरामी बढ्दै गएका छन् ।
बिरामी बढ्दै जाँदा रोग उन्मुलन भएको घोषणा नै अर्थविहीन बन्न पुगेको छ । मुलुकबाट ०६६ सालको माघ ५ मा जनस्वास्थ्य समस्याबाट राष्ट्रिय स्तरमै कुष्ठरोग निवारण भएको घोषणा गरिएको थियो ।
गरिब र विपन्नका कारण उपचार गराउन नजाने प्रबृतिले कुष्ठरोगीको संख्या बढ्दै गएको स्वास्थ्यकर्मी बताउछन् ।
कुष्ठरोगले तत्कालै ठुलो समस्या नपर्दासम्म अस्पताल नजाने प्रबृति छ । लामो समय अस्पताल नजाँदा रोग जटिल बन्दै गई अंगभंग हुने अवस्था आउँछ । त्यसपछि समस्या हुन थालेपछि मात्र बिरामी स्वास्थ्य केन्द्रसम्म पुग्ने गर्छन् ।
महिला घरको काममा लाग्नु पर्ने बाध्यता छ’ महाराजगंज स्वास्थ्य शाखा प्रमुख राधेश्याम जैसवालले भने, ‘थला नपरुन्जेल उपचारका लागि नआउने प्रबृतिले समस्या बढदो छ ।’ सर्ने खालको कुष्ठरोगले छालामा असर गरे पनि तत्काल शरिरमा प्रभाव पार्दैन् स्वास्थ्य कार्यालयका क्षय–कुष्ठ अधिकृत मोहम्मद ईफानले भने, ‘त्यही भएर बिरामी हेलचक्रयाई गर्छन् । हिडडुल गर्न, कामकाज गर्न समस्या नपर्ने हुदा विरामी स्वास्थ्य प्रति ध्यान नदिँदा समस्या भईरहेको उनले बताए ।
कुष्ठरोगका किटाणुले विस्तारै असर गर्दै छाला बाक्लो हुने, गिर्खाहरु देखा परेर स्नायुमा असर गर्छ । हात गोडा छुदा पनि थाह नपाउने र मांसपेशी कमजोर बनाउँदै लैजान्छ । त्यसपछि शारीरिक रुपमै कुरुप र कामकाज गर्न समस्या भएपछि बिरामी स्वास्थ्य सस्थाको सम्पर्कमा आउने हुँदा संख्या बढदै गएको अधिकृत ईफानले भने ।
रोग लागेको २ देखि ५ वर्षभित्र लक्ष्ण देखा पर्छ । त्यस पछि नराम्ररी प्रभावित बनाउछ । भारतसंगको खुला सीमाका कारण तराईका जिल्लामा कुष्ठरोग निवारण समस्या र चुनौती भईरहेको छ । पहाडी क्षेत्रबाट बसाईसराई गरेर आउने बिरामी र भारतीय बजारमा रोजगारी गरेर फर्कने विरामीका कारण रोगीको संख्या बढदै गएको छ ।
अंगभंगदर उच्च बनेको, पालिकाको प्राथमिकतामै नपरेको र दक्ष जनशक्तिको अभाव देखिएको ढकालले बताए । माईक्रो बेक्टेरियाबाट सर्ने उक्त रोग अवस्था हेरी ६ महिना र १ वर्षसम्म नियमित औषधि सेवन गर्नु पर्छ ।
न चिलाउने र लाटोफुस्रो दाग देखा पर्छ । विस्तारै शरिरको सेल मार्दै जाने, अंगभंग हुने र बिरामी अपाङ हुनेसम्मको अवस्था आउछ । समयमै रोग लागेको पत्ता लगाई उपचार गरेमा शरीर अंगभंग हुँदैन् । अरुलाई यो रोग सार्ने सम्भावना ज्यादै न्यून हुन्छ । कुष्ठरोगको निःशुल्क उपचार औषधि समेत सरकारी स्वास्थ्य सस्थामा पाईन्छ । कुष्ठरोग निवारणका लागि जिल्लामा अभियान नै चलाउनु पर्ने स्वास्थ्यकर्मी बताउँछन ।



















