कपिलवस्तु, माघ १४ गते । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच कपिलवस्तु जिल्लामा चुनावी सहकार्य गर्ने सहमति भएको छ । सहमतिअनुसार प्रलोपा ले कपिलवस्तुका तीनै निर्वाचन क्षेत्रहरूमा रास्वपाका उम्मेदवारहरूलाई समर्थन गर्ने भएको छ ।

दुवै पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै सुशासन, पारदर्शिता, लोकतान्त्रिक मूल्य–मान्यता र जनउत्तरदायी राजनीतिक व्यवस्थाको आवश्यकतालाई ध्यानमा राख्दै सहकार्य अघि बढाइएको जनाएका छन् । लामो समयदेखि जनतामा देखिँदै आएको राजनीतिक निराशा र अविश्वासलाई चिर्दै नयाँ राजनीतिक संस्कार स्थापना गर्ने साझा उद्देश्य रहेको विज्ञप्तिमा उल्लेख छ ।

सहमति अनुसार निर्वाचन अभियान, जनसम्पर्क, संगठन परिचालन तथा मतदातासँग प्रत्यक्ष संवादका कार्यक्रमहरूमा दुवै पार्टीले संयुक्त रूपमा सहकार्य गर्नेछन् । प्रलोपा ले औपचारिक रूपमा रास्वपाका उम्मेदवारलाई सघाउने निर्णय गरेको पनि विज्ञप्तिमा जनाइएको छ ।

दुवै पार्टीले यो सहकार्य केवल निर्वाचन केन्द्रित मात्र नभई कपिलवस्तु जिल्लाको समग्र विकास, सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पूर्वाधार तथा सामाजिक न्यायका मुद्दालाई प्राथमिकतामा राखेर अघि बढाइने बताएका छन् । यस सहमतिले कपिलवस्तुका जनताको चाहना र अपेक्षालाई संसदसम्म पुर्‍याउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

विज्ञप्तिमा दुवै पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरूलाई पार्टीगत सीमाभन्दा माथि उठेर रास्वपाका उम्मेदवारहरूलाई विजयी बनाउन एकजुट भएर लाग्न अपिल गरिएको छ । साथै शान्तिपूर्ण निर्वाचन प्रक्रिया, लोकतान्त्रिक मूल्य र जनमतको सम्मानमा सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ ।

संयुक्त विज्ञप्तिमा प्रगतिशील लोकतान्त्रिक पार्टी जिल्ला समिति कपिलवस्तुका प्रमुख रामनिवास पुरी, राष्ट्रिय स्वतन्त्र पार्टी संगठन विभागका केन्द्रीय सदस्य मिर्जा रशिद बेग तथा रास्वपा कपिलवस्तु जिल्ला सभापति शिवकुमार सुवेदीले हस्ताक्षर गरेका छन् ।