कपिलवस्तु, माघ । कपिलवस्तु क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार आशिष शर्मा यतिबेला घरदैलो तथा भेटघाट अभियानलाई तीव्रता दिँदै जनताको ढोका–ढोकामा पुग्नुभएको छ। नम्र शैली र प्रत्यक्ष संवादमार्फत मतदाताको विश्वास जित्ने अभियानमा उहाँ सक्रिय देखिनुभएको हो।

घरदैलो कार्यक्रमअन्तर्गत विभिन्न टोल बस्तीमा पुगेर उम्मेदवार शर्माले स्थानीय बासिन्दासँग भलाकुसारी गर्दै जनजीविकासँग जोडिएका समस्या, विकासका आवश्यकता तथा अपेक्षाबारे जानकारी लिइरहनुभएको छ। उहाँले परम्परागत राजनीतिक अभ्यासभन्दा फरक ढंगले जनतासँग प्रत्यक्ष सहकार्य र जवाफदेहितामा आधारित प्रतिनिधित्व गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्थानीयवासीसँगको संवादमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी तथा सडक पूर्वाधार मुख्य चासोका विषयका रूपमा उठेका छन्। उम्मेदवार शर्माले ती विषयलाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा काम गर्ने बताउनुभएको छ।

भेटघाटका क्रममा युवावर्ग र महिला समूहको उल्लेख्य सहभागिता देखिएको छ। स्थानीयहरूले स्वतन्त्र उम्मेदवारका रूपमा शर्माको पहल र पहुँचलाई सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिएका छन्।

घरदैलो अभियानलाई निरन्तरता दिँदै उम्मेदवार शर्माले मतदातासँगको प्रत्यक्ष सम्बन्धलाई नै चुनावी अभियानको मुख्य आधार बनाएको जनाइएको छ।