प्राविधिक र सेवाग्राहीलाई जोड्ने डिजिटल प्लेटफर्म ‘Pathayo Nepal’ सञ्चालनमा
कपिलवस्तु । नेपालमा दक्ष तथा अनुभवी प्राविधिक र सेवाग्राहीबीचको दूरी घटाउने उद्देश्यका साथ ‘Pathayo Nepal’ नामक आधुनिक डिजिटल प्लेटफर्म सञ्चालनमा आएको छ। देशमा प्राविधिक जनशक्तिको अभाव नभए पनि सही समयमा सही व्यक्तिसँग सम्पर्क हुन नसक्नु मुख्य समस्या रहँदै आएको सन्दर्भमा यो प्लेटफर्मलाई प्रभावकारी समाधानका रूपमा हेरिएको छ।
हालको अवस्थामा साना, छोटो समयमै सम्पन्न गर्नुपर्ने वा आकस्मिक प्रकृतिका कामका लागि विश्वासयोग्य प्राविधिक भेट्टाउन सेवाग्राहीलाई कठिनाइ हुँदै आएको छ। अर्कोतर्फ, पर्याप्त सीप र अनुभव हुँदाहुँदै पनि धेरै प्राविधिकहरू नियमित रोजगारीबाट वञ्चित छन्।
यही अवस्थालाई मध्यनजर गर्दै सुरु गरिएको Pathayo Nepal मा दर्ता गर्दा सेवाग्राही र प्राविधिक दुवै पक्ष लाभान्वित हुने विश्वास गरिएको छ। यस प्लेटफर्ममार्फत सेवाग्राहीले आवश्यक सेवाका लागि सहजै उपयुक्त प्राविधिक खोज्न सक्नेछन् भने प्राविधिकहरूले आफ्नो सीप र अनुभवअनुसार रोजगारीका अवसर प्राप्त गर्नेछन्।
Pathayo Nepal ले प्रत्यक्ष सम्पर्क, पारदर्शिता र आपसी विश्वासमा आधारित सेवा प्रणाली विकास गर्ने लक्ष्य लिएको जनाएको छ। साना मर्मतसम्भारदेखि ठूला प्राविधिक कामसम्मका सेवाहरू एउटै डिजिटल प्लेटफर्मबाट सहज रूपमा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।
यस प्लेटफर्मको प्रयोगले नेपालमा सेवा प्रवाहलाई छिटो, सरल र भरपर्दो बनाउनुका साथै स्थानीय स्तरमै रोजगारी सिर्जनामा पनि महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।



















