निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह
तौलिहवा(कपिलबस्तु), माघ २३ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई निष्पक्ष, स्वच्छ, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउन निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह गरिएको छ ।
निर्वाचन आयोगद्वारा जारी निर्वाचन आचारसंहिता–२०८२ सर्वसाधारणको जानकारीका लागि नेपाल राजपत्रमा समेत प्रकाशित भइसकेको जनाउँदै, कपिलवस्तु जिल्लामा आचारसंहिता कार्यान्वयन तथा अनुगमनको जिम्मेवारी प्रमुख कोष नियन्त्रक र सहायक प्रमुख जिल्ला अधिकारीलाई तोकिएको छ । सोही अनुसार जिल्लाका सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, दलका भातृ संगठन, नागरिक समाज, सञ्चारकर्मी, सार्वजनिक पदाधिकारी तथा सर्वसाधारण नागरिकलाई आचारसंहिता अक्षरशः पालना गर्न गराउन संयुक्त सूचना जारी गरिएको हो ।
अनुगमन अधिकृत खगेन्द्र प्रसाद अर्याल र भविश्वर घिमिरेले संयुक्त रूपमा जारी सूचनामा भनिएको छ, “निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र निष्पक्ष रूपमा सम्पन्न गर्नु राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी, नागरिक समाज तथा सम्पूर्ण नागरिकको साझा दायित्व हो, त्यसैले निर्वाचन आयोगद्वारा जारी आचारसंहिता–२०८२ को पूर्ण पालना आवश्यक छ ।”
सूचनामा निर्वाचन प्रचारप्रसारका क्रममा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला स्थानीय प्रशासनको अनुमति लिएर मात्र गर्नुपर्ने, प्रचार सभ्य र अनुशासित हुनुपर्ने, निजी घरजग्गा तथा सार्वजनिक स्थानमा दल वा उम्मेदवारका झण्डा तथा तस्बिर राखी प्रचार गर्न नपाइने उल्लेख गरिएको छ । साथै प्रचारप्रसार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइने, बालबालिकाको प्रयोग, नगद वा जिन्सी वितरण, भोजभतेर, डरत्रास, धम्की तथा धर्म वा सम्प्रदायको नाममा प्रचार गर्न निषेध गरिएको छ ।
मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदान केन्द्र बन्द नहुन्जेल सभा, सम्मेलन, गोष्ठी, निर्वाचन प्रचारप्रसार तथा सामाजिक सञ्जालमार्फत (कृत्रिम बौद्धिकता प्रयोग गरी वा नगरी) कुनै पनि प्रकारका सन्देश, सूचना वा प्रतिक्रिया दिन नपाइने व्यवस्था गरिएको छ ।
अनुगमन अधिकृतद्वयले संविधान, निर्वाचनसम्बन्धी ऐन, नियमावली तथा निर्वाचन आयोगद्वारा जारी निर्देशन र परिपत्रहरूको पूर्ण पालना गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ भव्य र सभ्य रूपमा सम्पन्न गर्न सबै सरोकारवालाको सहयोग अपेक्षा गरिएको बताउनु भएको छ ।




















