कपिलवस्तु, माघ २६ गते । नेपाली कांग्रेस कपिलवस्तु निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुरेन्द्रराज आचार्यले विगतमा भएका कमी–कमजोरीलाई आत्मसात् गर्दै सुधारका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा जनताका सुझाव र आलोचनालाई गम्भीर रूपमा लिएर काम गर्ने बताउनुभयो।

नेपाली कांग्रेस कपिलवस्तु नगर समितिले आयोजना गरेको कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उम्मेदवार आचार्यले कांग्रेस लोकतन्त्र, संविधान र नागरिक अधिकारको पक्षमा निरन्तर उभिँदै आएको पार्टी भएको उल्लेख गर्नुभयो। उहाँले संगठनभित्र देखिएका कमजोरीलाई सच्याउँदै एकताबद्ध भएर निर्वाचनमा होमिन कार्यकर्तालाई आग्रह गर्नुभयो।

उहाँले विकास, सुशासन र जनताको दैनिकीसँग जोडिएका मुद्दालाई प्राथमिकतामा राख्दै चुनावी अभियान सञ्चालन गरिने बताउनुभयो। साथै, जनताको विश्वास र समर्थनका आधारमा मात्र समृद्धि सम्भव हुने उल्लेख गर्दै कांग्रेस नेतृत्वमा मात्र स्थायित्व र समावेशी विकास सम्भव हुने दाबी गर्नुभयो।

कार्यक्रममा सहभागी कांग्रेसका नेताहरूले संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन र घरदैलो अभियानलाई प्रभावकारी बनाउँदै निर्वाचनमा पार्टीलाई विजयी गराउन एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका थिए।

कार्यकर्ता भेला तथा अन्तरक्रियामा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।