कपिलवस्तु । प्रतिनिधिसभा सदस्यका लागि कपिलवस्तु क्षेत्र नम्बर १ मा यस पटकको प्रतिस्पर्धा बहुकोणीय देखिएको छ। प्रमुख दल र स्वतन्त्र उम्मेदवारबीच कडा टक्कर हुने आकलन गरिएको छ।

नेपाली कांग्रेसका अतहर कमाल, नेकपा (एमाले) का बिश्राम प्रसाद थारु, राष्ट्रिय स्वतन्त्र पार्टीका मोहन आचार्य, नेपाल कम्युनिष्ट पार्टीका कृष्ण कुवँर तथा स्वतन्त्र उम्मेदवार आशिष शर्मा प्रमुख प्रतिस्पर्धीका रूपमा उभिएका छन्। कुल ३४ उम्मेदवार चुनावी मैदानमा छन्।

निर्वाचन आयोगका अनुसार क्षेत्र नम्बर १ मा ३० वटा वडा समेटिएका छन् भने १ लाख ४७ हजारभन्दा बढी मतदाता रहेका छन्। तीमध्ये करिब ४५ प्रतिशत मतदाता बाणगंगा नगरपालिकामा केन्द्रित छन्। २०७९ सालको निर्वाचनमा नेकपा (एमाले) ले दोब्बर मतान्तरले जित हासिल गरेको थियो। तर यस पटक सो पालिकामा दल तथा स्वतन्त्र उम्मेदवारबीच मत विभाजन हुने आकलन गरिएको छ।

दक्षिणी क्षेत्रमा जातीय तथा धार्मिक मुद्दा चुनावी बहसको केन्द्रमा देखिएको छ। उक्त क्षेत्रमा मुस्लिम, यादव, कुर्मी र दलित समुदायको उल्लेख्य मत रहेको छ। उत्तरी भेगमा भने थारु समुदायको बाहुल्य मत रहेको बताइन्छ।

मतदातालाई आकर्षित गर्न उम्मेदवारहरू घरदैलो, सभा र भेटघाट कार्यक्रममा सक्रिय छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका आचार्य र स्वतन्त्र उम्मेदवार शर्माले ठूला दलका उम्मेदवारलाई चुनौती दिइरहेको स्थानीय मतदाताको भनाइ छ।

गत निर्वाचनमा गठबन्धनका कारण कांग्रेसले उम्मेदवार नउठाएको भए पनि यस पटक प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिएको छ। त्यसैले यस पटक कुनै एक दलले एकतर्फी मत पाउने सम्भावना न्यून देखिएको विश्लेषण गरिएको छ।

मतदाताहरूका अनुसार तासको ‘ब्रेक’ खेल जस्तै अप्रत्याशित परिणाम आउन सक्ने सम्भावना छ। करिब २५ हजार मत प्राप्त गर्ने उम्मेदवारको जित सुनिश्चित हुन सक्ने अनुमान गरिएको छ।

कुल मिलाएर कपिलवस्तु–१ को चुनावी प्रतिस्पर्धा रोचक  देखिएको छ।