कपिलवस्तु, फागुन ४ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सफल, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गराउन कपिलवस्तुमा ९६ जना महिला स्वयंसेविका परिचालन गरिएको छ।

जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका सूचना अधिकारी निश्चल मोताङका अनुसार जिल्लाका ९६ वटै वडामा एक–एक जनाका दरले महिला स्वयंसेविका खटाइएको हो। उनीहरूलाई आवश्यक तालिम तथा सामग्री उपलब्ध गराई फागुन ३ गतेदेखि वडास्तरमा परिचालन गरिएको जनाइएको छ।

मतदाता शिक्षालाई प्रभावकारी बनाउन प्रत्येक पालिकामा एक–एक जनाका दरले १० जना निर्वाचन सम्पर्क व्यक्ति समेत खटाइएको कार्यालयले जनाएको छ। महिला स्वयंसेविका फागुन ३ गतेदेखि १७ गतेसम्म मतदाता शिक्षासम्बन्धी कार्यक्रममा सक्रिय रहनेछन्।

स्वयंसेविकालाई नमुना मतपत्र, स्टाम्प प्याड र स्वस्तिक छापलगायत सामग्रीसहित फिल्डमा पठाइएको छ। उनीहरूले मतदातालाई मतदान प्रक्रियाबारे जानकारी दिनुका साथै बदर मत कम गर्ने उद्देश्यले नमुना अभ्यास गराउने कार्य गर्नेछन्।

महिला स्वयंसेविकाले रु. १० हजार तथा निर्वाचन सम्पर्क व्यक्तिले रु. ५ हजार पारिश्रमिक पाउने व्यवस्था गरिएको कार्यालयले जनाएको छ।

यस निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी दुई प्रकारका मतपत्र रहनेछन्। प्रत्यक्षतर्फको सेतो रङको मतपत्रमा रातो रङको चुनाव चिन्ह रहनेछ भने समानुपातिकतर्फको सेतो रङको मतपत्रमा कालो रङको चुनाव चिन्ह रहने व्यवस्था गरिएको छ।

निर्वाचन कार्यालयले मतदातालाई मतदान प्रक्रियाबारे स्पष्ट जानकारी लिएर मात्रै मतदान केन्द्रमा उपस्थित हुन आग्रह गरेको छ।