सीमापार सुरक्षा समन्वय सुदृढ : निर्वाचनअघि ७२ घण्टा नाका बन्द गरिने
कपिलवस्तु, फागुन ४ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाल र भारतका सीमावर्ती जिल्लाबीच सुरक्षा समन्वय सुदृढ गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रहरी उपरीक्षक सन्तोष आचार्यले नेपालतर्फका कपिलवस्तु, पश्चिम नवलपरासी, रुपन्देही र दाङ तथा भारततर्फका चम्पारण, महाराजगञ्ज, सिद्धार्थनगर र बलरामपुर जिल्लाका सुरक्षा अधिकारीबीच भर्चुअल समन्वय बैठक सम्पन्न गरिएको जानकारी दिनुभयो।
बैठकमा निर्वाचनलाई लक्षित गरी सीमाक्षेत्रमा निगरानी कडा पार्ने, अवाञ्छित गतिविधि नियन्त्रण गर्ने तथा सूचनाको आदानप्रदानलाई तीव्र बनाउने विषयमा सहमति भएको जनाइएको छ। निर्वाचनको ७२ घण्टा अगावै प्रमुख सीमाना नाका बन्द गर्ने तथा अत्यावश्यक बाहेक आवतजावतमा कडाइ गरिने निर्णय भएको प्रहरी उपरीक्षक आचार्यले बताउनुभयो।
सीमाक्षेत्रमा साना हतियार, नक्कली नोट, अवैध मदिरा तथा अन्य आपराधिक क्रियाकलाप नियन्त्रणका लागि विशेष निगरानी सञ्चालन गरिने जनाइएको छ। संयुक्त गस्ती, चेकजाँच तथा सूचना साझेदारीमार्फत शान्ति सुरक्षालाई प्रभावकारी बनाइने उहाँले उल्लेख गर्नुभयो।
प्रहरीले निर्वाचन अवधिभर शंकास्पद गतिविधिबारे तत्काल जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ। निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित बनाउन नागरिकको सहयोग अपरिहार्य रहेको प्रहरीको भनाइ छ।



















