कपिलवस्तु । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा कपिलवस्तुका उमेदवारहरूले प्रचारप्रसार अभियानलाई तीव्रता दिएका छन् । सोमबार (फागुन ४)देखि प्रचारप्रसारको समय तोकिएपछि उमेदवारहरू घरदैलो र मतदाता भेटघाटमा लागेका छन् ।

कपिलवस्तुमा सबैभन्दा बढी मतदाता रहेको क्षेत्र नम्बर १ मा ३४ उमेदवार छन् । यहाँ नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र स्वतन्त्र उमेदवारबीच नै प्रतिस्पर्धा हुने पक्काजस्तै छ । कांग्रेसका अतहर कमाल मुसलमान, एमालेका विश्रामप्रसाद थारु, रास्वपाका मोहन आचार्य, नेकपाका कृष्ण कुँवर र स्वतन्त्र उमेदवार आशीष शर्माबीच नै कडा टक्कर हुने देखिएको छ ।

२०७९ को निर्वाचनमा भारी मतकासाथ जितेका एमालेका बलराम अधिकारी र पराजित भएका नेपाली कम्युनिस्ट पार्टीका चन्द्रप्रकाश खनाल ‘बेलदेव’ यसपटक चुनावी प्रतिस्पर्धाबाट बाहिर छन् । दुवै पूर्वमन्त्रीहरू यसपटक उमेदवार नबनेपछि चुनाव झनै रोचक बनेको छ ।

‘जेनजी’ आन्दोलनपछिको परिस्थितिमा रास्वपाको समेत यस क्षेत्रमा सशक्त उपस्थितिले पुराना दललाई कडा टक्कर दिइरहेको मतदाताहरू बताउँछन् । अनुभवी राजनीतिक व्यक्तित्व, पार्टी संगठनमा बलियो पकड भएका उमेदवार, नयाँ राजनीतिक शक्ति तथा स्वतन्त्र उमेदवारहरू एउटै मैदानमा उत्रिएपछि यस क्षेत्रको चुनावी समीकरण निकै रोचक र बहुआयामिक बनेको छ । राजनीतिक विश्लेषकहरूका अनुसार, परम्परागत दलहरूको प्रभाव, मतदातामा बढ्दो परिवर्तनको चाहना र नयाँ राजनीतिक विकल्पको उपस्थितिले यो क्षेत्रमा प्रतिस्पर्धा रोचक देखिएको छ ।

२०६४ सालमा प्रतिनिधिसभा सदस्य र २०७० सालमा तत्कालीन क्षेत्र नम्बर २ बाट स्वतन्त्र उमेदवार बनेका अतहर कमालले यसपटक कांग्रेसबाट टिकट पाएर चुनावी मैदानमा छन् । पार्टीका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका कमालले संविधानसभामा मुस्लिम, मधेसी, नागरिकता विधेयक लगायतका सवालमा सदनमा जोडदार रूपमा आवाज उठाएका थिए ।

दक्षिणी पालिकाहरूमा मुस्लिम मतदाताको संख्या बढी छ । उनी सुशासन, स्वास्थ्य, शिक्षा, रोजगारी लगायतका माग राख्दै अघि बढेका छन् । लामो राजनीतिक अनुभव, स्थानीय तहमा बनाएको जनसम्पर्क र पार्टीको संगठनात्मक संरचनालाई आधार बनाएर उनले मतदातासँग पुनः समर्थन मागिरहेका छन् ।

कांग्रेसले यस क्षेत्रलाई आफ्नो परम्परागत प्रभाव रहेको निर्वाचन क्षेत्रका रूपमा हेर्दै आएको छ । मुसलमानको उमेदवारीलाई निरन्तरता तथा स्थायित्वको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ । चुनावी अभियानमा उनले सुशासन, विकास, सामाजिक समावेशीता र क्षेत्रीय पूर्वाधार सुधारलाई प्राथमिक एजेन्डा बनाएको बताए ।

पूर्वप्रतिनिधिसभा सदस्य थारुलाई एमालेले यसपटक उमेदवार बनाएको छ । एमालेले पार्टी संगठनको मजबुत संरचना, कार्यकर्ता परिचालन र चुनावी रणनीतिलाई बलियो बनाउँदै प्रतिस्पर्धा थप तीव्र बनाएको छ । विगतको राजनीतिक अनुभव र संगठनात्मक क्षमता भएका थारु स्थानीयस्तरमा परिचित नेता भएकाले एमाले समर्थकबीच उत्साह देखिएको छ ।

पार्टी स्रोतका अनुसार, एमालेले यस क्षेत्रमा मतआधार विस्तार गर्ने रणनीति अपनाएको छ, जसका लागि स्थानीय मुद्दालाई प्राथमिकता दिइएको छ । पार्टीका विभिन्न तहमा काम गर्दै आएका थारुले एमालेको कार्यकालमा देशमा विकासको काम भएको र यस क्षेत्रमा रहेका अधुरा काम पूरा गर्नु नै आफ्नो ध्येय रहेको बताए ।

मतदातालाई एकीकृत गर्दै आफ्नो राजनीतिक आधार बलियो बनाउने प्रयासमा नेकपा सक्रिय देखिएको छ । समाजसेवीका रूपमा समेत परिचित नेकपाका उमेदवार कुँवर यस क्षेत्रमा बलियो प्रतिस्पर्धीका रूपमा हेरिएका छन् । बहुदलीय प्रतिस्पर्धाको अवस्थामा वाम मत विभाजनको असर कस्तो पर्छ भन्ने प्रश्न पनि यस क्षेत्रको चुनावी विश्लेषणमा महत्त्वपूर्ण विषय बनेको छ ।

यसपटकको चुनावी समीकरणमा रास्वपाको उपस्थिति पनि उल्लेखनीय मानिएको छ । अधिवक्ता आचार्य रास्वपाबाट उमेदवार बनेपछि चुनावी प्रतिस्पर्धाले नयाँ मोड लिएको छ । परम्परागत राजनीतिक दलको विकल्प खोज्ने मतदातालाई लक्षित गर्दै उनले अभियान अघि बढाएका छन् । विशेषगरी युवा मतदाता र परिवर्तन चाहने समूहबीच रास्वपाको प्रभाव विस्तार हुने सम्भावनालाई राजनीतिक विश्लेषकहरूले चासोका साथ हेरिरहेका छन् ।

नयाँ राजनीतिक शक्तिको उदयले परम्परागत दलहरूको मतआधारमा केही हदसम्म असर पर्न सक्ने देखिएको छ । सुरुमा विक्रम थापालाई टिकट दिने चर्चा बाहिर आएपछि पार्टीले अन्ततः आचार्यलाई टिकट दिएको थियो । पार्टी सभापति रवि लामिछाने र वरिष्ठ उपाध्यक्ष बालेन्द्र साह (बालेन) फागुन २ गते कपिलवस्तु आएपछि उत्साह थपिएको आचार्यले बताए ।

कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उमेदवार बनेका शर्माले समेत ठूला दलहरूलाई कडा टक्कर दिइरहेका छन् । शर्मा पूर्वमन्त्री तथा पूर्वराजदूत एवं कांग्रेस नेता दीपकुमार उपाध्यायका छोरा हुन् । शर्माले पनि चुनावी अभियानलाई आक्रामक बनाएका छन् ।

घरदैलो कार्यक्रम, सामाजिक सञ्जालमार्फत सक्रिय प्रचार र युवापुस्तालाई केन्द्रमा राखेर उनले चुनावी मैदानमा फरक शैली प्रस्तुत गरेका छन् । परम्परागत दलप्रति निराश मतदातालाई आकर्षित गर्ने प्रयासमा उनी देखिन्छन् । स्वतन्त्र उमेदवारहरूको भूमिका कतिपय अवस्थामा निर्णायक बन्न सक्ने भएकाले शर्माको उमेदवारीलाई पनि महत्त्वका साथ हेरिएको छ । उनले अहिलेसम्म कपिलवस्तुमा खासै विकास नभएको र विकासका एजेन्डासहित आफू उमेदवारी दिएको बताए ।

यस क्षेत्रबाट राष्ट्रिय जनमोर्चाका माधव भाट क्षेत्रीसहित मधेसवादी दल र अन्य साना राजनीतिक शक्तिहरूका उमेदवार पनि मैदानमा छन् । यद्यपि, प्रचारप्रसारको स्तर, सार्वजनिक बहस र राजनीतिक गतिविधिलाई हेर्दा मुख्य प्रतिस्पर्धा प्रमुख दल र स्वतन्त्र उमेदवारबीच हुने देखिएको छ ।

मत विभाजन, दलगत समीकरण र अन्तिम समयमा हुने गठबन्धन वा रणनीतिक निर्णयले परिणाममा ठूलो भूमिका खेल्न सक्छ । विशेषगरी नयाँ मतदाता र युवापुस्ताको मतदान प्रवृत्ति यस क्षेत्रको नतिजा निर्धारण गर्ने प्रमुख कारक बन्न सक्ने देखिएको छ ।

जातीय र धार्मिक समीकरणले समेत यस क्षेत्रमा प्रभाव पार्ने देखिएको छ । दक्षिणी क्षेत्रमा मुस्लिम, यादव, कुर्मी, दलित समुदायका मतदाता बढी छन् भने उत्तरी क्षेत्रमा थारु मतदाताको संख्या बढी छ । २०७९ को निर्वाचनमा एमालेका बलराम अधिकारीले ३६ हजार ६७५ र माओवादी केन्द्रका उमेदवार चक्रपाणी खनालले १८ हजार ९८३ मत पाएका थिए । यो क्षेत्रमा कुल एक लाख ४७ हजार ६५९ मतदाता छन् ।