कपिलवस्तु । जिल्लामा ‘भूँइँ मान्छे’को परिचय बनाएका कांग्रेस नेता अतहर कमाल मुसलमान ले कपिलवस्तुसहित देशभर नेपाली कांग्रेसको माहौल बन्दै गएको बताएका छन्। कपिलवस्तु क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कमालले मायादेवी गाउँपालिका–डुबरामा घरदैलो कार्यक्रमका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो दाबी गरेका हुन्।

उनले निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत मायादेवी, शुद्धोधन गाउँपालिका र बाणगंगा नगरपालिकामा कांग्रेसको लहर चलेको जिकिर गर्दै कसैले पनि कांग्रेससँग बराबरी गर्न नसक्ने बताए। “हामी १० देखि १५ हजार मतले निरन्तर अगाडि छौं, जित्नेमा ढुक्क छौं,” उनले भने।

कमालले यस क्षेत्रको सामाजिक रूपान्तरण र विकास निर्माणका कामबारे आफू जानकार रहेको उल्लेख गर्दै केन्द्रिय नेतृत्वले देखाएको साहसका आधारमा ‘अबकी बार सय पार’ नारा साकार हुने विश्वास व्यक्त गरे। उनले प्रत्यक्षतर्फ १०० र समानुपातिकतर्फ ४० सिट जित्ने दाबी गर्दै गगन थापाको नेतृत्वमा सरकार बन्ने र कपिलवस्तुका तीनै सिट कांग्रेसले जित्ने बताए।

को हुन् अतहर कमालरु

२०७० सालको संविधानसभा सदस्य निर्वाचनमा पार्टीले टिकट नदिएपछि कमाल स्वतन्त्र उम्मेदवार बनेर चुनाव जितेका थिए। स्वतन्त्र उम्मेदवार भए पनि उनले सार्वजनिक रूपमा कांग्रेसको चुनाव चिह्नमा मत हालेका थिए।

२०७४ मा समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनेका मुसलमान दुई दशकदेखि मधेशका सिमान्तीकृत तथा वञ्चित समुदायका बालबालिकाको शिक्षामा पहुँच विस्तारका लागि वकालत गर्दै आएका छन्। सामाजिक परिचालन अभियानमार्फत गरिब, विपन्न र पछाडि परेका समुदायलाई छात्रवृत्ति, निरन्तर पढाइ, स्वच्छ खानेपानी र आयआर्जनका कार्यक्रममा जोड्दै आएका छन्।

स्वतन्त्र रूपमा संविधानसभा सदस्यमा निर्वाचित भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली ले मन्त्रीको प्रस्ताव गर्दा पनि पार्टी नछाडेको उनले उल्लेख गरे। “अहिले कांग्रेसबाट उम्मेदवार हुन पाउँदा गर्व लागेको छ,” उनले भने।

बाणगंगा–११ वनकटवाका ५५ वर्षीय मुसलमानले कृषिको आधुनिकीकरणमार्फत उत्पादनदेखि बजारीकरणसम्मका कामलाई प्राथमिकता दिँदै स्वरोजगार वृद्धि गर्ने लक्ष्य लिएको बताए।