कांग्रेस क्षेत्र नं. ३ मा एकजुट, अभिषेक प्रताप शाहको पक्षमा चुनावी अभियान तीव्र
कपिलवस्तु, १२ फागुन । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अभिषेक प्रताप शाहलाई विजयी गराउन पार्टी पंक्ति पूर्ण रूपमा एकजुट भएको जनाएको छ । केन्द्रीय तहदेखि जिल्ला र क्षेत्रीय तहसम्मका नेता–कार्यकर्ता चुनावी अभियानमा सक्रिय रूपमा परिचालित भएका छन् ।
पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रुपा विकले लोकतन्त्रको सुदृढीकरण र क्षेत्रको समग्र विकासका लागि शाहको जित आवश्यक रहेको बताइन् । कपिलवस्तु–३ को विकास, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विस्तारका लागि सक्षम नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै उनले शाह उक्त जिम्मेवारी वहन गर्न सक्षम रहेको धारणा व्यक्त गरिन् ।
कांग्रेस कपिलवस्तुका जिल्ला सभापति अब्दुल कलामले पार्टीभित्र कुनै प्रकारको अन्तरविरोध नरहेको दाबी गर्दै सम्पूर्ण कार्यकर्ता निर्वाचन केन्द्रित भएको बताए । उनले यस निर्वाचनलाई लोकतान्त्रिक मूल्य र विकासको दिशासँग जोडिएको महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरे ।
जिल्ला उपसभापति हुमकान्त खनालले क्षेत्र नं. ३ मा कांग्रेसको संगठन सुदृढ रहेको र जनसमर्थन उत्साहजनक रहेको उल्लेख गरे । जिल्ला सचिव प्रेमबहादुर रायमाझीका अनुसार गाउँ–गाउँमा घरदैलो कार्यक्रमलाई तीव्र पारिएको छ ।
क्षेत्रीय सभापति ब्रम्हानन्द उपाध्यायले कांग्रेसको एजेण्डा विकास, सुशासन र पारदर्शितामा केन्द्रित रहेको बताए । उनले स्थिर र जिम्मेवार नेतृत्वका लागि शाहलाई समर्थन गर्न मतदातासँग अपिल गरे ।
कांग्रेस नेता रजत प्रताप शाहले युवापुस्ताको आकांक्षा सम्बोधन गर्न शाह सक्षम उम्मेदवार रहेको बताए । अर्का क्षेत्रीय सभापति गोविन्द केसीले पार्टी एकताबद्ध रूपमा निर्वाचनमा होमिएको उल्लेख गरे ।
नेता मुक्तेश्वर मिश्रले समावेशी र दिगो विकासका लागि कांग्रेस नेतृत्व आवश्यक रहेको धारणा राखे । रफिक मुसलमानले अल्पसंख्यक तथा पिछडिएका समुदायको आवाज संसदमा सशक्त रूपमा उठाउन शाह उपयुक्त उम्मेदवार रहेको बताए ।
यसैगरी बिनय गिरी, केशव पाण्डे र विनोद नेपालले कांग्रेसको जित क्षेत्रीय समृद्धिसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गरे । युवा नेता राकेश रायमाझीले युवालाई रोजगारी, सीप तथा अवसर सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे । नेता अमर पौडेलले अधुरा विकास आयोजना सम्पन्न गर्न शाहको जित अपरिहार्य रहेको बताए ।
नेत्री शुशिला बेल्बासेले महिला सशक्तीकरण र सामाजिक न्यायका लागि कांग्रेसको जित आवश्यक रहेको बताइन् । नेत्री ज्योति मगरले लोकतन्त्र र विकासको पक्षमा शाहलाई समर्थन रहेको उल्लेख गरिन् ।
कांग्रेस नेताहरूले घरदैलो, कोणसभा तथा भेटघाट कार्यक्रमलाई तीव्रता दिँदै चुनावी अभियानलाई थप सशक्त बनाएका छन् । पार्टी पंक्तिले एकताबद्ध प्रयास र जनसमर्थनका आधारमा कपिलवस्तु क्षेत्र नं. ३ मा अभिषेक प्रताप शाहको जित सुनिश्चित हुने दाबी गरेको छ ।



















