कपिलवस्तु–१ मा कांग्रेसको ‘भिजन सेवन’ सार्वजनिक
कपिलवस्तु, १२ फागुन । नेपाली काँग्रेस कपिलवस्तु क्षेत्र नं. १ ले प्रतिनिधिसभा निर्वाचनका लागि ‘सङ्कल्प पत्र (भिजन सेवन)’ सार्वजनिक गरेको छ । पार्टी केन्द्रले अघि सारेको ‘भिजन टेन’लाई आधार मानेर क्षेत्रीय आवश्यकता अनुरूप ‘भिजन सेवन’ तयार पारिएको जनाइएको छ ।
जिल्ला निर्वाचन परिचालन समितिका संयोजक शक्ति सिंह ठकुरी, समानुपातिक उम्मेदवार बिमला गैरे, बाणगंगा नगरपालिकाका पूर्व नगरप्रमुख मंगलप्रसाद थारु, नगर सभापति विष्णु थापा, जिल्ला सदस्य टेकबहादुर शाही, नेता ध्रुव नेपाललगायतका नेता–कार्यकर्ताको उपस्थितिमा प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार अतहर कमाल मुसलमानले सङ्कल्प पत्र सार्वजनिक गर्नुभयो । बाणगंगा नगरपालिका–११ देउवापारस्थित नेता रामशंकर थारुको निवासमा कार्यक्रम आयोजना गरिएको थियो ।
सङ्कल्प पत्रमा शिक्षा, दिगो पूर्वाधार, खेलकुद–सीप–युवा, कृषि तथा सिँचाइ, सामाजिक सशक्तीकरण, सद्भाव र सुशासन तथा व्यवसाय प्रवर्द्धन गरी सात विषयगत भिजन समेटिएका छन् ।
शिक्षातर्फ बाणगंगामा जीपी मेमोरियल टेक्निकल इन्स्टिच्युट सञ्चालन, वन विज्ञान अध्ययन संस्थान स्थापना तथा अम्बेडकर समतामूलक शिक्षालय स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । पूर्वाधारतर्फ कपिलवस्तु विकास कोष गठनका लागि पहल, सडक पूर्वाधार निर्माण, तीन पालिकामा व्यवस्थित बसपार्क निर्माण तथा आदिवासी जनजाति सङ्ग्रहालय स्थापना गर्ने लक्ष्य राखिएको छ ।
खेलकुद तथा युवातर्फ रङ्गशाला र खेलमैदान निर्माण, युवा स्टार्टअप कोष स्थापना र स्वरोजगारका लागि सीप प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । कृषितर्फ सिँचाइ पूर्वाधार विस्तार, छाडा तथा जङ्गली जनावर व्यवस्थापन र क्षतिपूर्तिको सुनिश्चितता, भूमिहीन तथा सुकुम्बासी समस्या समाधानमा पहल, दूध सङ्कलन तथा चिस्यान केन्द्र स्थापना र पशु पकेट क्षेत्र विकास कार्यक्रम अघि बढाइने जनाइएको छ ।
सामाजिक सशक्तीकरणअन्तर्गत युवा र महिलाको आर्थिक सशक्तीकरण, दुर्व्यसनमुक्त समाज निर्माण, सहकारी प्रवर्द्धन, थारु तथा अवधी भाषा संरक्षण र स्थानीय पाठ्यक्रममा समावेश, थारु पर्यटन प्रवर्द्धन केन्द्र स्थापना तथा दलित, मधेसी, मुस्लिम, जनजाति, गरिब र विपन्न युवालाई प्राविधिक तथा उद्यमशीलतासँग जोड्ने कार्यक्रम समेटिएका छन् ।
सद्भाव र सुशासनतर्फ शान्ति र सहकार्यको वातावरण निर्माण, संवादमार्फत मुद्दा तय गर्ने, मासिक ‘रिपोर्ट कार्ड’ सार्वजनिक गर्ने, नागरिक सहभागितामूलक बजेट विनियोजन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्ने प्रतिबद्धता जनाइएको छ । व्यवसाय प्रवर्द्धनतर्फ व्यापार सहजीकरण, व्यापारमैत्री नीति निर्माण, चाकरचौडा भन्सारमा सवारी आवागमन खुलाउन पहल तथा यातायात व्यवस्था सेवा कार्यालयमा लाइसेन्स र सवारी नामसारी सेवा विस्तारका लागि पहल गरिने उल्लेख छ ।
सङ्कल्प पत्र सार्वजनिक गर्दै उम्मेदवार मुसलमानले विगतको अनुभवका आधारमा कार्यान्वयन गर्न सकिने विषय मात्र समावेश गरिएको बताउनुभयो । उहाँले सङ्कल्प पत्र कार्यान्वयनमा पूर्ण प्रतिबद्ध रहेको र प्रगतिको विवरण नियमित रूपमा नागरिकलाई जानकारी गराइने उल्लेख गर्नुभयो ।
कार्यक्रममा संयोजक ठकुरीले सङ्कल्प पत्रका विषयलाई व्यवहारमा उतार्न पार्टी पंक्ति एकजुट भई प्रचार–प्रसारमा सक्रिय हुनुपर्ने बताउनुभयो । पार्टीले नीतिगत र कार्यक्रमगत दुवै पक्षलाई प्राथमिकतामा राखी निर्वाचनमा अघि बढ्ने जनाएको छ ।



















