कपिलवस्तु, १२ फागुन । राष्ट्रिय योजना आयोगको सहकार्यमा खाद्य प्रणाली रुपान्तरणको रणनीतिक योजनाको स्थानीयकरणसम्बन्धी अन्तर्क्रिया कार्यक्रम बुद्धभूमि नगरपालिकामा सम्पन्न भएको छ ।

बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशवकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका सहसचिवद्वय राजेश गौतम र लोकप्रसाद न्यौपाने तथा कार्यक्रम निर्देशक केशवराज सुवेदीको उपस्थिति रहेको थियो । साथै नगर कार्यपालिका सदस्य तथा कर्मचारीहरूको सहभागिता रहेको जनाइएको छ ।

कार्यक्रममा खाद्य प्रणालीलाई दिगो, पोषणमैत्री र वातावरणमैत्री बनाउने रणनीतिलाई स्थानीय तहको योजना, नीति तथा कार्यक्रमसँग कसरी समायोजन गर्ने भन्ने विषयमा छलफल गरिएको थियो । स्थानीय उत्पादन वृद्धि, कृषि आधुनिकीकरण, बजार व्यवस्थापन, पोषण सुरक्षा तथा जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणका उपायबारे समेत विचार विमर्श गरिएको सहभागीहरूले बताएका छन् ।

नगर प्रमुख श्रेष्ठले स्थानीय आवश्यकताअनुसार खाद्य प्रणाली सुधारका कार्यक्रम अघि बढाइने उल्लेख गर्दै संघीय रणनीतिलाई स्थानीय तहमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रतिबद्धता व्यक्त गर्नुभयो । आयोगका पदाधिकारीहरूले दिगो विकास लक्ष्यसँग खाद्य प्रणाली रुपान्तरणलाई जोडेर अघि बढ्न सुझाव दिएका थिए ।