निःशुल्क SEE परीक्षा तयारी ट्युसन कक्षा उद्घाटन
जिल्लाकाे मायादेवी गाउँपालिका ३ फुलिकामा निःशुल्क SEE परीक्षा तयारी ट्युसन कक्षाको उद्घाटन गरिएको छ। दलित सामाजिक विकास केन्द्र कपिलवस्तु र United Mission to Nepal को सहयोगमा, प्रगतिशील युवा समाज कपिलवस्तुको आयोजनामा तथा विशाल भिजन स्किल ट्रेनिङ सेन्टर, श्री जानकी युवा क्लब र मायादेवी गाउँपालिकाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो।
प्रगतिशील युवा समाज कपिलवस्तुका अध्यक्ष दुर्गेश यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थी प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा मायादेवी गाउँपालिका वडा नम्बर ३ का वडा सचिव शिव गुलाम कलवार, दलित सामाजिक विकास केन्द्रकी अध्यक्ष सूर्यमती पासी, वडा सदस्य राम बृक्ष यादव लगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन बिन्देसरी यादवले गर्नुभएको थियो।
प्रमुख अतिथि पन्थीले शिक्षा नै सफलताको आधार भएको उल्लेख गर्दै आर्थिक रूपमा कमजोर तथा विपन्न वर्गका विद्यार्थीलाई लक्षित गरी निःशुल्क SEE तयारी कक्षा सञ्चालन गर्नु सराहनीय पहल भएको बताउनुभयो। “यस्ता कार्यक्रमले सामुदायिक तहमा शैक्षिक चेतना अभिवृद्धि गर्नुका साथै विद्यार्थीलाई प्रतिस्पर्धात्मक बनाउन मद्दत पुर्याउँछ,” उहाँले भन्नुभयो।
आयोजकका अनुसार कक्षामार्फत विद्यार्थीलाई गुणस्तरीय तयारी गराई उत्कृष्ट नतिजा हासिल गराउने लक्ष्य राखिएको छ। कार्यक्रममा अभिभावक, विद्यार्थी तथा स्थानीय सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो।




















