एमालेका वडा अध्यक्षका उम्मेदवारसहित सय जना कांग्रेसमा प्रवेश
कपिलवस्तु । कपिलबस्तु क्षेत्र नं. २ का नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्रराज आचार्यले बुद्धभूमि नगरपालिका–१० मा आयोजित कार्यक्रममा नेकपा (एमाले) का वडा अध्यक्षका उम्मेदवार कल्लु मुसलमानसहित करिब एक सय जनालाई नेपाली कांग्रेसमा प्रवेश गराउनुभएको छ।
घरदैलो तथा भेटघाट अभियानको क्रममा आयोजित कार्यक्रममा विभिन्न दल परित्याग गरी स्थानीय नेता–कार्यकर्ता कांग्रेसमा आबद्ध भएका हुन्। नवप्रवेशीलाई उम्मेदवार आचार्यले टीका–माला लगाई स्वागत गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले लोकतन्त्रको सुदृढीकरण, विकास निर्माणको तीव्रता र समावेशी नेतृत्वका लागि कांग्रेसलाई समर्थन गर्न आग्रह गर्नुभयो। उहाँले जनताको विश्वास र साथले यसपटक उल्लेख्य मतान्तरले विजय हासिल हुने दाबी गर्नुभयो।
नवप्रवेशी कल्लु मुसलमानले स्थानीय विकास, सुशासन र जनतामुखी नीतिका लागि कांग्रेसमा आवद्ध भएको बताउनुभयो। उहाँले क्षेत्रको समग्र विकासका लागि एकजुट भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्थानीय बासिन्दाको उल्लेख्य उपस्थितिमा सम्पन्न कार्यक्रमले निर्वाचन अभियानलाई थप उत्साह मिलेको कांग्रेसले जनाएको छ।



















